काठमाडौं, असार १
एनएमबी लघुवित्त वित्तीय संस्थाले सातौं वार्षिक साधारणसभाको आह्वान गरेको छ । संस्थाको यही जेठ ३० गते बसेको एक सय तीनऔं सञ्चालक समितिको बैंठकले वार्षिक साधारणसभासम्बन्धी निर्णय गरेको हो । संस्थाले उक्त वार्षिक साधारणसभामार्फत हाल कायम रहेको चुक्ता पुँजी मध्येबाट शून्य दशमलव ६३ प्रतिशत अर्थात २५ लाख ५७ हजार नौ सय ९३ रूपैयाँ ४२ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।
संस्थाले उक्त वार्षिक साधारणसभामार्फत संस्थापक सेयरधनी समूहमध्येबाट एक जना र सर्वसाधारण सेयरधनी समूहमध्येबाट दुुई जनाको निर्वाचन गर्ने समेतको प्रस्ताव पारित गर्ने तयारी गरेको छ । संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा चार करोड ५९ लाख ७४ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा तीन करोड ३२ लाख ८१ हजार रूपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ४० करोड ५० लाख १६ हजार रूपैयाँ रहेको संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब ४० करोड २६ लाख नौ हजार रूपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ५५ करोड चार लाख ६३ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १७ करोड ६८ लाख ३७ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम छ करोड ९७ लाख १९ हजार रूपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात तीन दशमलव ४६ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले ९६ करोड ११ लाख ५३ हजार रूपैयाँ निक्षेप संकलन गरी दुुई अर्ब ७९ करोड ४८ लाख ५५ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १४ करोड ३० लाख ३९ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा दुुई दशमलव ४५ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।