काठमाडौं । दुग्ध विकास संस्थानमा अर्थ मन्त्रालयबाट पाएको १५ करोड सहुयित कर्जाको दुरुपयोग भएको पाइएको छ ।
अर्थ मन्त्रालयले ऋण सहयोग गरेको रकम तत्कालिन महाप्रबन्धक संजिव झाले व्यक्तिगत इच्छाबमोजिम प्रयोग गरेको उजुरीपछि अनुसन्धान गरी प्रतिवेदन उपलब्ध गराउन भन्दै अर्थ मन्त्रालयले संस्थान सञ्चालक समितिलाई पत्र काटेपछि कर्जा दुरुपयोगको विषय सतहमा आएको हो ।
दुग्ध विकास संस्थानले नेपाल सरकारको आ.व.२०७८/७९ को वार्षिक बजेटबाट दुग्ध विकास संस्थानको सुदृढीकरण शीर्षकबाट काठमाडौं वितरण आयोजनाको स्तरन्नोति (मुख्यत आयोजनाका मेशिनरीजहरु पुनस्र्थापना गर्ने कार्यक्रम) रहेकोमा सोको लागि २०७८ चैतमा प्राप्त हुन आएको १५ करोड सहुलियत कर्जा तत्कालीन महाप्रबन्धक संजिव झाले आफ्नै तजबिजले कर्मचारीको भरणपोषण तथा चालु खर्च तथा अन्यत्र नै खर्च गरिएको भन्दै संस्थान कर्मचारीहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका मन्त्री तथा सचिव अर्थ सचिव, महालेखा नियन्त्रक, सार्वजनिक ऋण व्यवस्थापन कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई उजुरी दिएका थिए ।
सो उजुरीको सुनुवाई गर्दै अर्थ मन्त्रालयको शाखा अधिकृतले दुग्ध विकास संस्थानको सञ्चालक समितिलाई छानबिन गरी प्रतिवेदन उपलब्ध गराउन भन्दै पत्र पठाइएको पाइएको हो ।
संस्थान कर्मचारीहरुले लेखेको उजुरीमा तत्कालीन महाप्रबन्ध झाले गरेको सो रकमको बदमासी निज व्यक्तिबाटै असुल उपर गरी प्रस्तावित परियोजनामा नै खर्च गर्ने व्यवस्था गर्न अनुरोध गरिएको छ ।
