काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले पद तथा गोपनीयताको सपथ लिएका छन् । शुक्रबार बैंक सञ्चालक समितिका अध्यक्ष दिलिपकुमार ढुङ्गानाबाट एक कार्यक्रमकाबीच उनले सपथ लिएका हुन् । बैंक सञ्चालक समितिको यही जेठ १० गते बसेको बैठकले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा २९ को उपदफा २ तथा बैंकको नियमावलीको नियम ३५ को उपनियम ३ को व्यवस्थाबमोजिम देवेन्द्ररमण खनाललाई बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा चार वर्षका लागि नियुक्ति गरेको थियो ।
पदभार ग्रहणको अवसरमा नवनियुक्त प्रमुख कार्यकारी अधिकृत खनालले सरकार, राष्ट्र बैंक तथा बैंकले लिएको नीतिको कार्यन्वयन गरी नागरिकमा गुणस्तरीय सेवा प्रवाह गर्र्दै सबै सरोकारवालाले पाउने हिस्सामा वृद्धि हुने गरी कार्य गरिने बताए । चार्टर्ड एकाउन्टेन्ट खनाल यसअघि बैंकको कामु प्रमुख कार्यकारी अधिकृत रहेका थिए । २०६४ सालमा चार्टर्ड एकाउन्टेन्टको रूपमा प्रवेश गरेका खनाल व्यवस्थापनमा स्नातकोत्तर तथा कानुनमा एलएलबी तहको अध्ययन पूरा गरेका छन् ।
यसअघि रिक्त रहेको बैंकको प्रमुख कार्यकारी अधिकृतको पदमा खुला प्रतिस्पर्धाबाट छनौट गरी नियुक्त गर्नका लागि बैंकले २०८१ वैशाख ७ गते दरखास्त आवेदन माग गरेको थियो । कार्यक्रममा बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा नवनियुक्त भएका खनाललाई बैंक सञ्चालक समिति, व्यवस्थापन समिति तथा बैंकमा क्रियाशील ट्रेड युनियनका अध्यक्षहरूबाट बधाई तथा शुभकामना ज्ञापन गरिएको छ । उक्त कार्यक्रम कम्पनी सचिव हेमराज खरेलले सञ्चालन गरेका थिए ।