बलेवा (बागलुङ) । आइतबार रातिदेखि कालीगण्डकी करिडोरको बागलुङ–गुल्मी खण्ड सुक्खा पहिरोका कारण अवरुद्ध भएको छ । बागलुङ र गुल्मीको सिमानामा पर्ने गुल्मीको कालीगण्डकी गाउँपालिका–६ बरलवाको भिरमा गत राति पहिरो खसेको हो ।
पहिरोले बागलुङ–गृल्मी खण्डअन्तर्गत मालढुङ्गा–अर्बेनी सडक पूर्णरुपमा अवरुद्ध भएको हो । यसअघि सोही ठाउँमा फागुन ११ र २६ गते पनि सुक्खा पहिरो खसेका कारण करिडोर एक साता बन्द भएको थियो । बागलुङको मालढुङ्गादेखि गुल्मीको अर्बेनीसम्म ४४ किलोमिटर खण्ड कालोपत्रका लागि स्तरोन्नतिको काम भइरहेको छ । कालोपत्रको काम गरिरहेको निर्माण कम्पनी कालिका कन्ट्रक्सनका इञ्जिनियर छकबहादुर गुरुङले काम चलिरहेकैबेला आइतबार रातको समयमा एक्कासी पहाड खसेपछि सडक अवरुद्ध भएको र काम रोकिएको बताए ।
पहिरो खुलाउनका लागि आयोजना र निर्माण कम्पनीले सोमबार बिहानैदेखि काम थालेका छन् । “पहिरो खसेको ठाउँ निकै कमजोर छ, त्यहाँ पटकपटक पहिरो खसेर काममा बाधा पारिरहेको छ”, आयोजनाका इञ्जिनियर अरुण खत्रीले भने, “पहाड सिँगै खसेकाले यो पटक पनि सडक खुल्न समय लाग्छ ।”
सडक अवरुद्ध भएकाले करिडोर हुँदै लामो तथा छोटो दूरीका सवारीसाधन आवागमनमा समस्या भएको प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएका कारण जिल्ला सदरमुकाम बागलुङ बजार र दक्षिण जैमिनी तथा बरेङ गाउँपालिकाबाट बुटवललगायत ठाउँमा चल्ने सवारीसाधन रोकिएका छन् । भिरालो जमिन रहेको उक्त स्थानमा बेलाबेलामा सुक्खा पहिरो जाने गरेको छ ।