मनहरी (मकवानपुर) । सत्रौँ गणतन्त्र दिवसका अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले गणतन्त्रात्मक राज्य व्यवस्थाले मुलुकमा परिवर्तन हुँदै गइरहेको बताएका छन् ।
प्रदेश प्रमुख शर्माले भने– “हामीले प्राप्त गरेको लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामार्फत मुलुकको भौगोलिक अखण्डता, सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणसहितको सभ्य, सुसंस्कृत र समुन्नत समाज निर्माण हुनेमा विश्वस्त छु ।” संवैधानिक रूपमा हामीले पाएका हक–अधिकारको प्रभावकारी कार्यान्वयन गर्दै राष्ट्र निर्माणको महाअभियानमा लामबद्ध हुन उनले आग्रह गरेका छन् ।
गणतन्त्र स्थापनाका लागि विभिन्न कालखण्डमा भएका आन्दोलनमा अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात, अज्ञात अमर सहिदप्रति प्रदेश प्रमुख शर्माले भावपूर्ण श्रद्दाञ्जलि अर्पण गर्दै बेपत्ता, घाइते तथा अपाङ्ग योद्धामा उच्च सम्मान प्रकट गरेका छन् । जनताका प्रतिनिधिमार्फत निर्मित संविधानमा व्यवस्था गरिएको मौलिक हकसम्बन्धी व्यवस्था, सङ्घीय शासन प्रणाली, धर्मनिरपेक्षता, समावेशी–समानुपातिक प्रणाली, सामाजिक न्यायजस्ता प्रावधानले समाजवादको दिशामा अगाडि बढ्न मार्ग प्रशस्त गरेको प्रदेश प्रमुख शर्माद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ ।