काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले डिजिटल प्रविधिअनुरूप क्षमता अभिवृद्धि गरेर सेवा प्रवाह गर्न बीमा अभिकर्ताहरूलाई निर्देशन दिएका छन् । नेपाल बीमा प्राधिकरणद्वारा पेशागत बीमा अभिकर्ता संघसँग बीमासम्बन्धी समसामयिक विषयमा आइतबार काठमाडौंमा आयोजित छलफल एवम् अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले बीमा अभिकर्ताको डिजिटल पाटोबाट क्षमता अभिवृद्धिमा सहयोग गर्न तयार रहेको बताए ।
अध्यक्ष सिलवालले भने, ‘संसारमै डिजिटलाइजेसन तीव्र गतिमा अघि बढिरहेको छ, नवीनतम् प्रविधिलाई अवलम्बन गर्नैपर्छ, पेशागत बीमा अभिकर्ता संघलाई डिजिटल पाटोबाट सहयोग गर्न प्राधिकरण तयार छ, संघले नै आफ्ना सदस्यहरूलाई डिजिटल प्रविधिका बारेमा सिकाउनुपर्छ, आचारसंहिता पालना गर्न लगाउनुपर्छ, अभिकर्तालाई बलियो बनाउन संघले नेतृत्व लिनुपर्छ ।’
बीमामार्फत प्रत्येक व्यक्तिको आर्थिक सुरक्षण, बीमितको हित र बीमा व्यवसायको विश्वसनीयता अभिवृद्धिका लागि सामूहिकरूपमा लाग्नुपर्ने उल्लेख गर्दै अध्यक्ष सिलवालले भने, ‘बीमा ऐन, नियम, निर्देशिका र मार्गदर्शनको सबैले पालना गर्नुपर्छ, आ–आफ्नो जिम्मेवारीअनुसार काम गर्नुपर्छ, बीमितको हितलाई ध्यान दिनुपर्छ, राम्रोलाई राम्रो, खराबलाई खराब भन्न सक्नुपर्छ, अभिकर्तालाई कसैले विस्थापित गर्दैन, काम नगरे आफै विस्थापित हुन्छन् ।’
अध्यक्ष सिलवालले बीमा अभिकर्तालाई आइपर्ने समस्या छलफलबाट समाधान गर्न प्राधिकरण खुला रहेको उल्लेख गर्दै बीमासम्बन्धी काम कार्यवाहीका सम्बन्धमा सुझाव दिन बीमा अभिकर्ताहरूलाई आग्रह गरे । नेपाल बीमा प्राधिकरण, सञ्चालक समितिका सदस्य कपिलदेव ओलीले बीमा ऐन, नियम तथा निर्देशिका र अन्तर्राष्ट्रिय अभ्यासका आधारमा समग्र बीमा क्षेत्रलाई अगाडि बढाउन सम्बद्ध सबै लाग्नुपर्ने बताए । नेपाल बीमा प्राधिकरणका निर्देशक कमलप्रसाद रेग्मीले बीमा अभिकर्तासम्बन्धी कानुनी व्यवस्था, अनलाइन परीक्षा प्रणाली, बीमालेख बिक्री गर्दा देखिएका समस्यालगायतका विषयमा प्रस्तुति गरे । नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले बीमा व्यवसायको प्रवद्र्धन र बीमाप्रतिको विश्वसनीय अभिवृद्धिमा बीमा अभिकर्ताको भूमिका महत्वपूर्ण रहँदै आएको बताए ।
नेपाल बीमा प्राधिकरणका निर्देशक पूजन ढुङ्गेल (अधिकारी)ले प्राधिकरणले जारी गरेको डिजिटल बीमालेख निर्देशन बीमा अभिकर्तालाई अप्ठ्यारो पार्न नभई अभिकर्तालाई विश्वसनीय बनाउन, बीमा प्रक्रियालाई सरल बनाउन र बीमाको पहुँच बढाउन भएको स्पष्ट गरे ।
कार्यक्रममा नेपाल जीवन बीमक सङ्घका अध्यक्ष पोषक पौडेल र पेशागत बीमा अभिकर्ता सङ्घका महासचिव ओम केसीले बीमा अभिकर्ताका काम, विद्यमान समस्या र समाधानका उपायलगायतका विषयमा छुट्टाछुट्टै प्रस्तुति गरिएको थियो । नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेशकुमार लालले सञ्चालन गर्नुभएको कार्यक्रममा जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत र पेशागत बीमा अभिकर्ता संघका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।
धितोपत्र बोर्ड र बीमा व्यवसायीबीच छलफल
काठमाडौं । धितोपत्र बोर्ड र बीमा व्यवसायीबीच छलफल भएको छ । नेपालमा सञ्चालनमा रहेको निर्जीवन बीमा कम्पनीका लगानीकर्ताहरूको छाता संगठन नेपाल निर्जीवन बीमा व्यवसायी संघले आइतबार नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा नवराज अधिकारीसँग भेटगरी संघको तर्फबाट सुझावहरू प्रस्तुत गरेको हो ।
संघका पदाधिकारीहरूबाट हाल सञ्चालकहरूको सेयर पदमा रहँदा र पदबाट हटेको एक वर्षसम्म पनि बिक्री गर्न नपाइने व्यवस्थाले गर्दा कैंयौँ वर्षदेखि लगानीकर्ता सञ्चालकहरूले आफूलाई व्यक्तिगतरूपमा अप्ठ्यारो परेको बखतमा सेयर बिक्री नपाउँदा समस्या परेको, सबै लगानीकर्ताजस्तै सञ्चालकहरू समेत कम्पनीको लगानीकर्ता नै रहेको र लगानीकर्ताहरूको तर्फबाट निर्वाचित भई सञ्चालक समितिमा प्रतिनिधित्व गरेको भरमा आपूmसंँग रहेको सेयर सधैँ रोक्का नै गरिराख्नु न्यायोचित नहुने हुँदा सो प्रावधानलाई पुनरावलोकन गर्न अनुरोध गरेको थियो ।
भारतलगायत अन्य मुलुकमा पनि अग्रिमरूपमा सञ्चालकले घोषणा गरेर सेयर बिक्री गर्ने व्यवस्था रहेको र नेपालमा पनि त्यस्तै व्यवस्था गरी वा नियमनकारी निकायको स्वीकृति लिई निश्चित सीमासम्म आफ्नो सेयर बिक्री गर्न सकिने व्यवस्था गर्न बोर्डको ध्यानाकर्षण गराइएको थियो । उक्त भेटघाटमा संघका तर्फबाट अध्यक्ष राजेन्द्र मल्ल, उपाध्यक्ष मनोहर दास मूल, कोषाध्यक्ष रमेशकुमार निरौला, सदस्य आजाद श्रेष्ठ एवं बालकृष्ण श्रेष्ठ समेतको उपस्थिति रहेको थियो ।