काठमाडौँ । जिल्ला अदालत धनुषाको अनुमतिले नागरिकता विवादमा थुनामा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई काठमाडौँ ल्याउने तयारी गरिएको छ । स्वास्थ्यमा समस्या आएपछि जनकपुरको काब्या अस्पतालमा रहेका उनलाई एयर लिफ्ट गरेर काठमाडौँ ल्याउने तयारी गरिएको उनका कानुनी सल्लाहकार किशोर पौडेलले बताए ।
‘जनकपुरको अस्पतालबाट एयर लिफ्ट गरेर काठमाडौँ ल्याउने प्रक्रिया सुरु गरिएको छ,’ उनले भने । पछिल्लो पटक जिल्ला अदालतले उनलाई सोमबार तीन दिन थुनामा राख्ने अनुमति दिएको थियो ।
जनकपुर प्रादेशिक अस्पतालमा भर्ना गरिएका उनलाई उच्च रक्तचाप, मुटुको चालमा उतारचढाव र टाउको दुखाइ बढेपछि थप उपचारका लागि काब्या अस्पताल लगिएको थियो । तर त्याहाँ पनि उनको स्वास्थ्यमा सुधार नआएपछि काठमाडौँ ल्याउन लागिएको हो ।