काठमाडौं । आन्तरिक रोजगारीलाई प्रवर्द्धन तथा वैदिशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले विराटनगरमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गरिने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संयुक्तरुपमा आयोजना गर्न लागिएको उक्त मेलाको उद्घाटन प्रधानमन्त्री पुुष्पकमल दाहालले गर्ने कार्यक्रम छ ।
उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले मंगलबार पत्रकार सम्मेलन गरी सो मेला जेठ १७ र १८ गते कोशी प्रदेशको राजधानी विराटनगरदेखि सुरु गरिने जानकारी दिएको हो । मेलामा श्रम मन्त्रालय र मातहतका सबै निकाय, विभिन्न तालिमप्रदाय संस्थाहरु, सामी परियोजना, रेमी योजना, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल तालिम तथा रोजगारी व्यवसायी महासंघ, होटल संघ नेपालले सहभागिता जनाउने जनाइएको छ । विराटनगरको बिग होटलमा आयोजना गरिने सो मेलामा ५० वटा स्टल राखिने उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले जानकारी दिए ।
मेलामा अदक्ष, दक्ष युवाहरुलाई स्थानीय उद्योग, व्यावसायिक प्रतिष्ठानले आवश्यकताअनुसार रोजगारीको अवसर प्रदान गर्नुका साथै सरकारले तोकेअनुसारको पारिश्रमिक उपलब्ध गराउने राउतको भनाइ छ । मेलामा रोजगारीको खोजीमा रहेका व्यक्तिले रोजगारदातासम्म कसरी पुग्ने र अवसरको पहिचान गर्ने जानकारी पाउनुका साथै रोजगारीका लागि आवश्यक सीपका बारेमा जानकारी समेत गराउनेसम्मको व्यवस्था रहेको अध्यक्ष राउतले बताए ।
महासंघका अनुसार सो मेला मधेश प्रदेशको जनकपुरमा जेठ १९ र २० गते, गण्डकी प्रदेशको पोखरामा जेठ २१ र २२ गते र लुम्विनी प्रदेशको बुटवलमा जेठ २३ र २४ गते हुनेछ । यसैगरी कर्णाली प्रदेशको सुर्खेतमा जेठ २५ र २६ गते, सुदूरपश्चिम प्रदेशको धनगढीमा जेठ २७ र २८ गते र बागमती प्रदेशको ललितपुरमा जेठ २९ र ३० गते आयोजना गरिने महासंघले जनाएको छ ।