काठमाडौँ । नेपालमा आगामी १० दिनमा कोशी प्रदेशबाट मनसुन भित्रिने विज्ञहरुको अनुमान छ । विज्ञहरुले मनसुनजन्य विपद्बाट बच्नका लागि अब एक हप्ताको समय मात्रै रहेको हुँदा सरकारले आवश्यक तयारी गर्नुपर्ने बताएका छन् ।
नेपालको कोशी प्रदेशबाट अबको १० दिनमा मनसुन भित्रिने र विकसित हुँदै सुदूरपश्चिमसम्म पुग्दा १५ देखि २० दिनसम्मको समय लाग्ने जलवायुविज्ञ डा. धर्मराज उप्रेतीले बताए । उनले यस वर्ष अत्यधिक वर्षा हुने पूर्वानुमान रहेकाले सोहीअनुसारका योजना बनाइ तयारीमा जुट्न आग्रह पनि गरेका छन् ।
जल तथा मौसम विज्ञान विभागले यस वर्ष विगतको तुलनामा भन्दा बढी वर्षा हुने भएकोले सोही अनुसार सरकारलाई पूर्वतयारीमा जुट्न विज्ञहरुले सुझाव दिएका छन् । डा. उप्रेतीले राहत र उद्धारको लागि आवश्यक बन्दोबस्तीका सामग्री, खाद्यान्नहरुको संकलन गरी भण्डारण गर्न आवश्यक भइसकेको बताए ।