काठमाडौं । बजेट सार्वजनिक हुनुभन्दा अघि सेयरबजारमा उच्च वृद्धि देखिएको थियो । बजेट सार्वजनिक भएपछि भने बजार प्रभावित भयो । अघिल्लो साता साढे पाँच प्रतिशतभन्दा धेरै बढेको नेप्से परिसूचक गतसाता करिब तीन प्रतिशत घट्यो ।
एक सातामै उच्च वृद्धि भएको बजारमा अल्पकालीन कारोबारीले नाफा सुरक्षित गर्न सेयर बिक्री गरिरहेका बेला गतसाता सरकारले बजेट ल्यायो । बजेटमा सेयर लगानीकर्ताले राखेका मागहरू सम्बोधन नभएपछि बजार रातो बन्यो ।
बढेको बजारमा नाफा सुरक्षित गर्न लागेका बेला बजेटले धक्का दिएको छ । यही कारण गतसाता बजारमा उच्च गिरावट देखिएको विश्लेषकहरूको दाबी छ । त्यसो त बजेटले लगानीकर्ताको माग सम्बोधन नगरे पनि हानि हुने कुनै पनि व्यवस्था गरेको छैन । बरु नियामक निकाय धितोपत्र बोर्डलाई थप सुदृढ बनाउने उल्लेख गरेको छ ।
बजेटबाट भन्दा पनि मौद्रिक नीतिबाट सेयरबजार प्रभावित हुने भएकाले लगानीकर्ताको ध्यान अब राष्ट्र बैंकतिर फर्किएको छ । अबको एक महिनापछि केन्द्रीय बैंकले पनि मौद्रिक नीति ल्याउँछ । बैंक तथा वित्तीय संस्थामा पाँच खर्ब हाराहारी लगानीयोग्य तरलता रहेका बेला केन्द्रीय बैंकले सेयरबजारमा लगानी गर्न प्रोत्साहन मिल्नेगरी मौद्रिक नीति ल्याउनुपर्ने माग सेयर लगानीकर्ताको छ । त्यसो भए बजारले त्यसपछि बढ्दो ट्रेन्ड समाउन सक्छ ।
गतसाता नेप्से दुई दशमलव ९१ प्रतिशत घटेर दुई हजार ६९ विन्दुमा झरेको छ । दैनिक औसत चार अर्ब २८ करोड रुपैयाँको कारोबार भएको छ ।