काठमाडौँ । प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले सहकारीपीडितको बचत रकम फिर्ता हुनुपर्ने बताएका छन् । आर्थिक वर्ष २०८१÷८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल गर्न आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सहकारीका बचतकर्ताले आफ्नो रकम फिर्ता पाउनुपर्ने उल्लेख गरे ।
यही जेठ १५ गते बनेको सहकारीसम्बन्धी संसदीय छानबिन समितिले सङ्कटमा परेका सहकारीका विषयमा अध्ययन गर्नुपर्ने र राम्रो काम गर्ने सहकारीलाई प्रोत्साहन गर्नुपर्ने सांसद थापाले सुझाव दिए । “यहाँ बहुसङ्ख्यक सहकारीले राम्रो काम गरिरहेका छन्, केही सहकारीले ठगी गरिरहेका छन् । राम्रो काम गर्नेलाई प्रोत्साहन र ठगी गर्नेलाई समितिले कारबाहीको दायरामा ल्याउन सकोस्”, उनले भने, “सहकारीपीडित बचत रकम फिर्ताको माग गर्दै आन्दोलनरत छन् । उनीहरुलाई संसदीय छानबिन समितिले न्याय दिनुपर्छ ।”
राससका अनुसार गोरखा मिडियाबाट सहकारीको रकम हिनामिना भएको विषय उठिरहेको उल्लेख गर्दै सांसद थापाले यस विषयमा छानबिन गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न माग गरे ।