काठमाडौं, असार २
शाईन रेसुङ्गा डेभलपमेन्ट बैंकले सेयर मूल्य समायोजन गरेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) अनुुसार बैंकले आइतबार १५ प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य दुुई सय २१ रूपैयाँ ७४ पैसा तोकेको हो । पछिल्लो पटक प्रतिकित्ता दुुई सय ५५ रूपैयाँ अन्तिम मूल्यमा सेयर कारोबार भएको बैंकको बजार पुँजीकरण चार अर्ब १३ करोड ७७ लाख सात हजार दुुई सय ६५ रूपैयाँ पुुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा भने बैंकको एक सय रूपैयाँ अंकित मूल्य कायम रहेको एक अर्ब ६२ करोड २६ लाख ३० हजार तीन सय रूपैयाँबराबरको एक करोड ६२ लाख २६ हजार तीन सय तीन कित्ता सेयर सूचीकृत रहेको छ । बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ४३ करोड ६७ लाख ७० हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा ३१ करोड नौ लाख तीन हजार रूपैयाँ रहेको थियो ।
चुक्ता पुँजी दुुई अर्ब ६२ करोड २९ लाख चार हजार रूपैयाँ रहेको बैंकले चालू आवको तेस्रो त्रैमासिक अवधिमा २७ अर्ब ५९ करोड १४ लाख ८३ हजार रूपैयाँ निक्षेप संकलन गरी २४ अर्ब ७५ करोड ६४ लाख ७८ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब चार करोड २४ लाख ७९ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ९९ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । बैंकले गत आवको सोही अवधिमा भने १८ अर्ब ८३ करोड १५ हजार रूपैयाँ निक्षेप संकलन गरी १५ अर्ब ८८ करोड ३७ लाख ९२ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ६३ करोड ९८ लाख १५ हजार रूपैयाँ खुद खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव १९ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।