काठमाडौं, असार २
महालक्ष्मी विकास बैंकले दुईवटा विद्यालयलाई सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत भैरहवा र चितवनका स्कुललाई शौचालय निर्माणका लागि तीन लाख रूपैयाँ सहयोग गरेको हो । बैंकका अनुसार भरतपुर महानगरपालिकामा रहेको जखडीमाई राष्ट्रिय आधारभूत विद्यालय र भैरहवाको भानु माध्यामिक विद्यालयमा निर्माण गर्न लागेको शौचालयलाई डेढ–डेढ लाख रूपैयाँ सहयोग गरेको हो ।
बैंकका अनुसार सञ्चालक राहुल अग्रवालले रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थ नगरका अध्यक्ष ठाकुरकुमार श्रेष्ठलाई चेक हस्तान्तरण गरेका हुुन् । नारायणगढमा बैंकका शाखा प्रबन्धक वीरेन्द्रकुमार चौधरीले रोटरी क्लब अफ भरतपुरका अध्यक्ष सुरेश सेन ठकुरीलाई डेढ लाख रूपैयाँको चेक हस्तान्तरण गरेका हुुन् । बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ३९ करोड ७३ लाख ६४ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा ३८ करोड ७९ लाख छ हजार एक सय १४ रूपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी तीन अर्ब सात करोड २० लाख ६१ हजार तीन सय २८ रूपैयाँ रहेको बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ३५ अर्ब ४३ करोड ९६ लाख ५५ हजार एक सय १३ रूपैयाँ निक्षेप संकलन गरी २९ अर्ब ७४ करोड २२ लाख १८ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब १९ करोड ८९ लाख ४४ हजार दुुई सय २९ रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा निष्क्रिय कर्जाको अनुपात तीन दशमलव ७८ प्रतिशत रहेको छ ।
बैंकले गत आवको सोही अवधिमा भने ३० अर्ब ५९ करोड ११ लाख १० हजार रूपैयाँ निक्षेप संकलन गरी २६ अर्ब १५ करोड ७१ लाख ९६ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब २६ लाख ७३ हजार तीन सय १२ रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा तीन दशमलव ८५ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।