काठमाडौं,अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोदावरी नगरपालिकामा ढुंगाखानीबाट रोडाढुंगा उत्खनन गर्दा १ अर्बभन्दा बढीको भ्रष्टाचार भएको थाहा भएको छ । नगरपालिकाका पदाधिकारी, कर्मचारी र क्रसर सञ्चालकको मिलेमतोमा राजस्व चुहावट गरी यति ठूलो भ्रष्टाचार भएको देखिएको छ। ललितपुरको लेले र नल्लुका ढुंगाखानीबाट रोडाढुंगा उत्खनन गर्दा १ अर्ब ४ करोड ८७ लाख ४५ हजार २ सय ८७ भ्रष्टाचार भएको भन्दै नगरप्रमुख, उपप्रमुखसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ।
उनीहरूले २०७४ सालमा निर्वाचित भएपछि यो ढुंगाखानीलाई दुहुनु गाई जस्तै बनाएका थिए। मापदण्डभन्दा अति न्यून मूल्यमा ठेक्का लगाएर भ्रष्टाचार गरेको देखिएको छ। तत्कालीन नगरप्रमुख गजेन्द्र महर्जन,उपप्रमुख मुना अधिकारीसमेत १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ। जसमा मेयर, उपमेयर, ४ जना प्रमुख प्रशासकीय अधिकृत, ३ जना राजस्व शाखा प्रमुख तथा ७ वटा निर्माण कम्पनी छन्।महर्जन हालका नगरप्रमुख पनि हुन्। हाल उपप्रमुख पनि मुना अधिकारी छन्। पहिलो कार्यकालको पाँचै वर्षको ढुंगाखानीमा यसरी भ्रष्टाचार गरेको देखिएको छ। यो मुद्दा दायर भएसँगै उनीहरू निलम्बनमा पनि परेका छन्।