विराटनगर । कृषि उपज निर्याप्तका लागि पूर्वी क्षेत्रमा रणनीतिक छलफल सुरु गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले प्रादेशिक व्यापार रणनीतिका बारेमा नेपाल अलैँची व्यवसायी महासंघ र चिया उत्पादक संघसँग झापाको बिर्तामोडमा छलफल गरेको हो ।
कार्यक्रममा नेपाल सरकारका पूर्व वाणिज्य सचिव पुरुषोत्तम ओझाले रणनीतिको खाका समेत प्रस्तुत गरेका थिए । महासंघ कोशी प्रदेशका उपाध्यक्ष कुमारमणि पोखरेलले कोशी प्रदेशका कृषि उपजहरूले नेपालको निर्यातमा महत्वपूर्ण योगदान पुर्याएको बताउँदै पहिचान भएका प्रदेशका निर्यात योग्य कृषि उपजहरू लक्षित रणनीति निर्माणले आर्थिक विकासमा योगदान पुग्ने बताए । छलफलमा नेपाल अलैँची व्यवसायी महासंघका अनिल ढुङ्गानाले अलैँची निर्यात समिति र अलैँची अनुसन्धानका लागि सूचना केन्द्रको आवश्यकता औँल्याएका थिए । चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीले कोशी प्रदेशका प्रमुख निर्यात वस्तु चिया र अलैँची रहेको बताए । उनले स्वदेशी उद्योगहरू धरायसी बनिरहेको अवस्थामा महासंघले त्यसलाई जोगाउन कस्तो भूमिका खेल्नुपर्ने हो जानकारी गराउन आग्रह गरेका थिए ।
चिया व्यवसायी ओम कृष्ण ज्ञवालीले खुल्ला आयातलाई रोक्नुपर्ने भन्दै कृषि व्यापार प्रवद्र्धनको लागि नीति निर्माणमा सरकार कमजोर रहेको उल्लेख गरे । उनले तथ्यमा आधारित नीति रणनीति निर्माणले मात्र कृषि व्यापार प्रवद्र्धन गर्ने बताए । चिया व्यवसायी गोपाल दाहालले विश्व बजारमा अर्गानिक चियाको राम्रो बजार रहेको बताउँदै अर्गानिक प्रमाणीकरण प्रक्रियामा सरकारले निजी क्षेत्रलाई सहजीकरण गर्नुपर्नेमा जोड दिएका थिए ।