काठमाडौँ । विश्व वातावरण दिवसको अवसरमा बुधबार आयोजित ‘फोहर व्यवस्थापन र जलवायु सम्मेलन’ कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले जलवायु परिवर्तनका कारण सिर्जित समस्यासँग जुध्नका लागि साझा प्रतिबद्धतासहितको व्यवहारिक कार्यान्वयन जरुरी रहेको बताएका छन् ।
अध्यक्ष दाहालले चुनौतीको रुपमा रहेको फोहर व्यवस्थापन गरी स्वच्छ वातावरण निर्माणमा जुट्नुपर्नेमा जोड दिए । “जलवायु परिवर्तनबाट सिर्जित समस्यासँग जुध्न पनि स्वच्छ वातावरण जरुरी रहेको छ”, उनले भने ।
गरिब, महिला, सीमान्तकृत वर्ग जलवायुजन्य समस्याबाट सबैभन्दा बढी जोखिममा परेको स्पष्ट पार्दै अध्यक्ष दाहालले नेपाल जलवायु परिवर्तनको बढी जोखिममा परेको देश भएकाले पनि समयमै थप सचेत हुन जरुरी रहेको बताए ।
कृषि, खाद्य, मानव स्वास्थ्य, ऊर्जा, खानेपानीमा जलवायु परिवर्तनको प्रभाव परेको र जीविकोपार्जनसमेत जटिल बन्दै गएको जानकारी दिँदै अध्यक्ष दाहालले बाढीपहिरोलगायत समस्याबाट मुक्त हुन नेपालको अधिकारको रुपमा रहेको जलवायु कोषबाट बढीभन्दा बढी सहयोग ल्याउनुपर्ने उल्लेख गरे ।
जलवायु परिवर्तनसँग जुध्नका लागि जलवायु कोषबाट नेपालले सहज रुपमा राहत रकम पाउनुपर्ने उल्लेख गर्दै उनले वातावरण संरक्षणमा विशेष ध्यान दिन सरकारको ध्यानाकर्षण समेत गराए । फोहर व्यवस्थापनका लागि आधुनिक तरिकाको प्रशोधन गरी थप सहजीकरण गर्नुपर्ने बताए ।
कार्यक्रममा नेपाल र भारतका जलवायु र फोहर व्यवस्थापनमा संलग्न विज्ञहरुको सहभागिता रहेको थियो । सो अवसरमा जलवायु परिवर्तनबारे जानकारी दिलाउने उद्देश्यका साथ प्रकाशित ‘एबिसी फर क्लाइमेट’ नामक पुस्तकसमेत सार्वजनिक गरिएको थियो ।