काठमाडौं । सरकारी स्वामित्वको कृषि विकास बैंकको व्यवस्थापनमा दर्जनौँ कैफियतहरू देखिएको छ । महालेखापरीक्षको ६१औँ वार्षिक प्रतिवेदन २०८१ अनुसार बैंकले ठूलो संख्यामा ऋणीको कर्जाको साँवाब्याज उठाएकोे छैन । खराब कर्जा असुलीमा प्रभावकारीरूपमा योजना बनाई काम गर्न नसकेको पाइएको छ । बैंकको सहुलियतपूर्ण कर्जा प्रवाह, सफ्टवेयर खरिदलगायतका विषयहरूमा पनि गम्भीर त्रुटि देखिएको छ ।
महालेखाका अनुसार बैंकले अपलेखन गरेको साँवा तथा ब्याजको छुट्टै अभिलेख राखी असुली गर्ने व्यवस्था मिलाउनुपर्नेमा हालसम्म पनि अपलेखन गरेको पाँच सय ८३ ऋणीको ३७ करोड २३ लाख ३५ हजार रुपैयाँ कर्जा र एक अर्ब ७० करोड आठ लाख रुपैयाँ ब्याज असुल गर्न सकेको छैन । यसको लागि कार्ययोजना बनाई कर्जा असुल गर्न महालेखापरीक्षकको कार्यालयले निर्देशन दिएको छ ।
बैंकले उपलब्ध गराएको सहुलियतपूर्ण कर्जाहरू तोकिएको क्षेत्रमा प्रयोग पर्नेमा त्यसो नभएको पाइएको छ । बैंकले गत आर्थिक वर्षमा व्यावसायिक कृषि, विपन्न व्यवसायी, महिला उद्यमीलगायतका क्षेत्रमा २० अर्ब ७४ करोड २८ लाख रुपैयाँ ऋण प्रवाह गरेको छ । छनोटमा परेका ५० लाखभन्दा बढी ऋण लिने चार सय ४२ ऋणीको ऋण चार अर्ब २१ करोड ३९ लाखमा बैंकले ४५ करोड २८ लाख रुपैयाँ ब्याज अनुदान दिएको छ । यो अवस्थामा ऋण रकमको प्रभावकारी अनुगमन गरी निर्धारित क्षेत्रमा तोकिएका उद्देश्य हासिल गर्न खर्च भएको सुनिश्चित गर्नुपर्ने देखिएको महालेखाले उल्लेख गरेको छ ।
बैंकले हाल सञ्चालनमा ल्याएको बैंकिङ सफ्ट्वेयर टी–२४ बैंकका सबै शाखाले सञ्चालन गरेको अवस्थामा सबै शाखा कार्यालयको कारोबारलाई समेटी वित्तीय विवरण तयार नगरेको पनि महालेखाले औँल्याएको छ । बैंकले २०७६ मा जडान गरेको सीबीएस सफ्टवेयरको खरिदमूल्य अमेरिकी डलर १८ लाख १८ हजार र सोको वार्षिक मर्मत खर्च अमेरिकी डलर पाँच लाख ११ हजार यो वर्ष भुक्तानी गरेको छ । बैंकले सफ्टवेयरबाट एकीकृत वित्तीय विवरण तयार गर्नुपर्नेमा त्यसो नगरेको महालेखाले उल्लेख गरेको छ ।
महालेखाका अनुसार बैंकको यो वर्षसम्म गैरबैंकिङ सम्पत्तिको मूल्य २४ करोड ८६ लाख रुपैयाँ रहेको छ । सोको ब्याज एक करोड ८८ लाख ४९ हजार उठ्न बाँकी रहेकोले गैरव्यावसायिक सम्पत्तिको समयमा नै व्यवस्थापन गरी आयआर्जन हुने कार्यमा ल्याउने व्यवस्था गर्न पनि महालेखाले निर्देशन दिएको छ ।
बैंकले यो वर्षका लागि कुनै लाभांश प्रस्ताव गरेको छैन । बैंकले २०७१/०७२ र २०७२/०७३ को नगद लाभांश चार करोड ५४ लाख ९४ हजार नेपाल सरकारलाई भुक्तानी गर्न बाँकी छ । सो रकम नेपाल सरकारको सञ्चितकोषमा तुुरुन्त दाखिला गर्न पनि महालेखाले भनेको छ ।
बैंकले कर्जा असुली कार्यविधि, २०७७ मा व्यवस्था भएबमोजिम कर्जा भुक्तानी गर्नेसम्बन्धी स्मरण पत्रहरू पठाउने, कर्जा भुक्तानी गर्न ताकेता पत्र पठाउने, कर्जा भुक्तानी तथा लिलामीको सूचना प्रकाशित गर्ने, कालोसूचीमा नाम समावेश गर्ने र ऋण असुली न्यायाधिकरणमा उजुरी दर्तालगायतका कार्य प्रभावकारीरूपमा कार्यान्वयन गरेको छैन । बैंकबाट प्राप्त विवरणअनुसार अघिल्लो वर्षको अन्त्यमा निष्क्रिय कर्जा तीन अर्ब ७२ करोड ८० लाख रहेकोमा समीक्षा वर्षमा बढेर पाँच अर्ब आठ करोड २० लाख रुपैयाँ पुगेको छ । यो अवस्थामा कार्ययोजना बनाई निष्क्रिय कर्जा असुल गर्नुपर्नेमा महालेखाले जोड दिएको छ ।
बैंकले २०७९/०८० मा २४ अर्ब ७३ करोड रुपैयाँ ब्याज आम्दानी र १५ अर्ब २९ करोड रुपैयाँ ब्याज खर्च प्रक्षेपण गरेकोमा २३ अर्ब ९५ करोड रुपैयाँ ब्याज आम्दानी तथा १५ अर्ब ७५ करोड रुपैयाँ ब्याज खर्च गरेको छ । प्रक्षेपणको तुलनामा आम्दानी तीन दशमलव १५ प्रतिशत कम र खर्च तीन प्रतिशत बढी भएको छ । अर्कोतर्फ बैंकको खुद मुनाफा र प्रतिसेयर आम्दानी घटेको, निष्क्रिय कर्जा बढेको, सम्पत्तिको अनुपातमा खुद मुनाफा घट्दो क्रममा रहेको देखिएकोे छ ।
निक्षेप र ऋण प्राप्तिको अनुपातमा ब्याज खर्च अघिल्लो आर्थिक वर्ष पाँच दशमलव ९७ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७९/०८०मा सात दशमलव २४ प्रतिशत पुगेको छ । लगानी, बचत तथा अन्य बैंकिङ कारोबारमा सुधार गरी उच्च व्यावसायिक दक्षताका साथ बैंकिङ सञ्चालन गर्ने व्यवस्था मिलाउनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।