काठमाडौं । बागमती करिडोर सडकखण्डमा निर्मित दुई नगरपालिका र दुई निर्वाचन क्षेत्र जोड्ने ‘जम्बुडाँडा पुल’ सञ्चालनमा आएको छ । सो मोटरेबलको पुलको बुधबार उपप्रधान एवं भौतिक, पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले एक कार्यक्रमका बीच उद्घाटन गरेका थिए ।
नवनिर्मित पुलले काठमाडौं निर्वाचन क्षेत्र २ र ३ तथा गोकर्णेश्वर र मनोहरा नगरपालिकालाई जोड्नेछ । कार्यक्रममा मन्त्री महासेठले पुल निर्माणपछि स्थानीयलाई सहज हुने बताए । यस्तै, उनले उपत्यकामा अब नयाँ डिजाइनका पुल निर्माणले प्राथमिकता पाउने र गोकर्णेश्वर तथा मनोहरा आसपास क्षेत्रमा सडक मर्मतलाई प्राथमिकता दिइने पनि बताए । पुल निर्माण सडक डिभिजन काठमाडौंले गरेको हो । सडक डिभिजन काठमाडौंका प्रमुख नारायणदत्त भण्डारीका अनुसार ४१.८ मिटर लम्बाइ र ७.५ मिटर चौडाइको उक्त पुल तीन करोड ८० लाख रुपैयाँमा निर्माण भएको हो । पुल निर्माण ड्रयागन रियलको ज्वाइन्ट भेन्चर कम्पनी (जेभी)ले गरेको हो । पुल सञ्चालनपछि काठमाडौं उपत्यककाको ट्राफिक व्यवस्थापन पनिमा सहजीकरण हुने सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताए ।