काठमाडौं । उद्योगी व्यवसायीहरूले स्वदेशी उद्योगको संरक्षणका लागि कच्चा पदार्थ आयातमा लाग्ने अग्रिम आयकर खारेज गर्न माग गरेका छन् । सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा गहुँ/धान आयातमा दुई दशमलव पाँच प्रतिशत र दाल गेडागुडी आयातमा १० प्रतिशत अग्रिम आयकर लगाउने व्यवस्था गरेको छ ।
नेपाल मैदा उद्योग संघ र नेपाल चामल तेल दाल उद्योग संघले संयुक्तरूपमा पत्रकार सम्मेलन गरी कच्चा पदार्थ आयातमा अग्रिम आयकर लाग्ने व्यवस्था खारेज गर्न माग गरेका हुन् । बजेटका समग्र पक्ष स्वागतयोग्य भए पनि कच्चा पदार्थ गहुँ, धान र दाल गेडागुडीमा लाग्ने अग्रिम आयकरले स्वदेशी उद्योगहरू धराशायी हुने उद्योगीहरूको भनाइ छ । मैदा उद्योगले आयात गर्ने कच्चा पदार्थ गहुँमा लागेको दुई दशमलव पाँच प्रतिशत अग्रिम आयकरको भार यस क्षेत्रका उद्योगले थेग्न नसक्ने मैदा उद्योग संघले जनाएको छ । संघका अनुसार गहुँबाट आँटा, सुजी, चक्की आँटा, चोकरजस्तो खाद्य वस्तु उत्पादन गर्ने उद्योगलाई यो अग्रिम आयकरको भारले प्रत्यक्ष मारपर्ने भएको छ ।
औद्योगिक प्रयोजनको लागि भारतबाट आयात हुने गहुँ र व्यापारीले आयात गर्ने तयारी मैदा दुवैको भन्सार महसु्ल र अग्रिम आयकर हेर्दा अब कच्चा वस्तुभन्दा तयारी वस्तु नेपालमा आयात गर्न सस्तो (गहुँको कर बढी र मैदाको कर कम) हुने देखिएको संघले जनाएको छ । यसले गर्दा स्वदेशी मैदा उद्योग धराशायी हुने निश्चित रहेको संघको भनाइ छ । कच्चा पदार्थ गहुँ र तयारी मैदा आयातमा समान कर लगाउँदा स्वदेशी मैदा उद्योग धमाधम बन्द भई ठूलो लगानी जोखिममा पर्न जाने मैदा उद्योग संघले जनाएको छ । व्यापारिक प्रयोजनको लागि आयात गरिने गहुँ र मैदामा कर लगाउन तर औद्योगिक प्रयोजनका लागि आयात गर्ने गहुँमा अग्रिम आयकर नलगाउन संघले आग्रह गरेको छ ।
यसैगरी धान र दाल गेडागुडी आयातमा पनि अत्यधिक अग्रिम आयकर लगाइएको उद्योगीहरूले बताएका छन् । सरकारले औद्योगीक प्रयोजनको लागि आयात हुने कच्चा पदार्थ आयातमा तयारीको तुलनामा कम्तीमा पनि एक तहको भन्सार दर फरक हुने व्यवस्था गर्ने भने पनि व्यवहारमा लागू नगरिएको उद्योगीहरूको गुनासो छ । उद्योगीहरूले पाँच वर्षदेखि एक तहको सुविधा खोजिरहेको भए पनि यसको विपरीत तयारी दाल र कच्चा पदार्थ आयातमा समान १० प्रतिशत यथावत रहेको र सोमा थप १० प्रतिशत अग्रिम आयकरको भार थप हुँदा दाल उत्पादन गर्ने उद्योग सिधा मर्कामा परेको नेपाल चामल, तेल, दाल उद्योग संघले जनाएको छ ।
यस्तै, औद्योगिक प्रयोजनका लागि आयात हुने कच्चा पदार्थ (धान) मा लगाइएको अग्रिम आयकरले धान आयात गरी चामल उत्पादन गर्ने उद्योग सिधा मर्कामा परेको संघले उल्लेख गरेको छ । भारतबाट आयात हुने तयारी धान र व्यापारीहरूबाट आयात हुने तयारी चामल दुवैको भन्सार महसु्ल र अग्रिम आयकर करि–करिब बराबर नै हुने संघको भनाइ छ । संघका अनुसार यसले स्वदेशी चामल उद्योग धराशायी हुने देखिन्छ । स्वदेशी उद्योग बन्द हुने अवस्थाबाट रोक्न कच्चा पदार्थ आयातमा लाग्ने अग्रिम आयकर तत्काल खारेज गर्नुपर्ने उद्योगीहरूको माग छ ।