काठमाडौँ । काठमाडौँको दक्षिणकाली नगरपालिका ८ केराबारीको भीरमा एक जना महिला र एक जना पुरुषको शव भेटिएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयले दक्षिणकाली सडकबाट करिब दुई सय मिटर तल भीरमा उनीहरुको शव भेटिएको जनाएको छ ।
उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले शव नजिकै बागमती प्र ०३–०२–००७ प ३८१२ नम्बरको मोटरसाइकल पनि भेटिएकाले उनीहरू दुर्घटनामा परेका हुनसक्ने बताए ।
मैनालीले बुधबार साँझ शव देखेर स्थानीयले खबर गरेको बताउँदै नेपाल प्रहरीको विपद् व्यवस्थापन टोलीले भीरबाट शव निकाल्न जुटेको जानकारी दिँए । प्रहरीले मृतक महिला चाँगुनारायण नगरपालिका– ५ की ३२ वर्षीया सविना राई को सनाखत भएको तर मृतक पुरुषको सनाखत हुन नसकेको जनाएको छ ।