विराटनगर । उद्योग संगठन मोरङले सुुनसरी मोरङ औद्योगिक करिडोरका विभिन्न उद्योगमा कार्यरत प्राविधिकहरूका लागि जुट स्पिनिङ र जुट विभरसम्बन्धी तालिम प्रदान गरेको छ ।
संगठनको सीप विकास कार्यक्रमअनुसार औद्योगिक क्षेत्रमा कार्यरत प्राविधिकहरूको दक्षता अभिवृद्धि गर्ने उद्देश्यले सो तालिम प्रदान गरिएको हो । संगठनका कोषाध्यक्ष सुवोध कोइरालाले उद्योगका लागि आवश्यक दक्ष प्राविधिक जनशक्तिको आवश्यकतालाई सहजीकरण गर्न यस प्रकारको तालिमको धेरै महत्व रहेको बताए । उनले दक्ष जनशक्तिका माध्यमबाट उद्योग सञ्चालन गर्दा गुणस्तरीय उत्पादन भई उत्पादकत्व अभिवृद्धिमा समेत सहयोग पुग्ने बताए । उद्योगहरूको आवश्यकताका आधारमा पाठ्यक्रम तयार गरी सञ्चालन हुँदै आएको यस प्रकारको तालिमप्रति उद्योगहरूको बढ्दो अभिरूचीप्रति खुसी व्यक्त गर्दै प्राविधिक जनशक्ति विकासमा हातेमालो गर्न उद्योग प्रतिष्ठानहरूलाई कोइरालाले आग्रह पनि गरे ।
विभिन्न उद्योग परिसरमै २२ दिनसम्म सञ्चालन गरिएको तालिममा ४० जना प्राविधिकको सहभागिता रहेको थियो । तालिमका प्रशिक्षक नारायण लामिछाने र सविन्द्र भण्डारीले जुट उद्योगमा कार्यरत जनशक्तिको सबलीकरणका लागि सञ्चालित यस्ता तालिमले सहभागीलाई आफ्नो जिम्मेवारी दक्षतापूर्वक सम्पन्न गर्न सहयोग पु¥याउने विश्वास व्यक्त गरे । सैद्धान्तिक र व्यावहारिक गरी दुई सत्रमा सञ्चालन गरिएको तालिम अवधिमा जुटका स्पिनिङका आधारभूत ज्ञान, सीपका साथै पेशागत सरसफाइको महत्व, स्वास्थ्य, मेसिन व्यवस्थापनलगायतको विषय समेटिएका थिए । इन्स्योर परियोजनासँगको सहकार्यमा यसअघि संगठनले विभिन्न उद्योगका प्राविधिकहरूलाई एकै थलोमा राखी तालिम दिँदै आएको थियो । तर पछिल्लो समय भने सिकाइलाई थप प्रभावकारी बनाउन उद्योगको मागका आधारमा सम्बन्धित उद्योगमै तालिम सञ्चालन गर्न थालेको उद्योग संगठन मोरङले जनाएको छ । साथै, संगठनले तालिममा सहभागीहरूलाई प्रमाणपत्र समेत प्रदान गरेको थियो ।