बरहथवा (सर्लाही) । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले शुक्रबार सर्लाहीको लालबन्दीमा दोस्रो लालबन्दी नेपाल क्योकुशिन–कान कराते राष्ट्रिय प्रतियोगिताको उद्घाटन गर्दै नेपाललाई नेपालको खेल क्षेत्र विकासका लागि तीनै तहका सरकार मिलेर काम गर्नुपर्ने बताएका छन् ।
उनले खेल क्षेत्रमार्फत नेपालको पहिचान स्थापित हुँदै गएकाले यसको विकासका लागि सबै मिलेर काम गर्नुपर्ने आवश्यकता औँल्याए । खेलको माध्यमबाट विश्वमा नेपालको नाम उजागर गरेका खेलाडीको उचित संरक्षणका लागि पनि मिलेर काम गर्नुपर्ने उनको भनाइ छ ।
खेल क्षेत्रमा भौतिक पूर्वाधार र उपयुक्त वातावरण निर्माण गर्न नसक्नुका साथै खेलाडी पलायन तथा युवा खेलाडी दुर्व्यशनीमा लाग्ने समस्या देखिएकाले नयाँ योजनासहित संरक्षण, सम्वर्द्धन र प्रोत्साहनका योजनासहित राज्यले आवश्यक योजना अगाडि बढानुपर्ने खाँचो रहेको मन्त्री उप्रेतीको भनाइ छ ।
यसैगरी उनले मधेश प्रदेशको विकासका लागि महत्वपूर्ण मानिएको सुनकोशी मरिन डाइभर्सन, काठमाडौँ निजगढ द्रुतमार्ग निर्माणसम्पन्न भए यहाँको अवस्था बदल्ने भएकाले ती आयोजना समयमै सम्पन्न गर्न लाग्नुपर्नेमा जोड दिए ।
क्योकुशिन–कान कराते प्रशिक्षक शशि देवकोटाले नेपाल क्योकुशिन–कान कराते सङ्घले लालबन्दी–७ स्थित कृषि विकास बैंकको चौरमा आयोजित प्रतियोगितामा विभिन्न प्रदेश तथा विभागीय क्लबका समेत गरी दुई सय ५० जना खेलाडी सहभागिता रहेको जानकारी दिए ।
उनका अनुसार प्रतियोगितामा सहभागी खेलाडीलाई प्रमाणपत्र र विजयी खेलाडीलाई प्रमाणपत्र, ट्रफी, मेडल र नगदसहित पुरस्कृत गरिनेछ । आयोजकले महिला तथा पुरुष खेलाडीलाई २५ केजीदेखि माथि विभिन्न तौल समूहमा प्रतिस्पर्धा गराउने जनाएको छ ।