काठमाडौं । विवादास्पद होटल व्यवसायी याक एन्ड यति समूहका मुख्य सञ्चालक सर्राफ समूहले बनाउन लागेको एक हाइड्रोपावर कम्पनीमा अवैध लगानीलाई कम्पनी रजिस्ट्रारको कार्यालयले स्रोत नखुलेको अवस्थामा पनि अभिलेखीकरण गरेको तथ्य सार्वजनिक भएको छ ।
शेखरकुमार राणा सञ्चालक अध्यक्ष रहेको ब्लु इनर्जी लिमिटेडको प्रबन्ध सञ्चालक भारतीय नागरिक बरुण सर्राफ हुन् भने अन्य सदस्यमा रत्ना सर्राफ र मिथिलेश कुमार सिंह रहेको देखिन्छ । २०८० साल माघ २६ मा भएको साधारणसभाबाट यो सञ्चालक समिति बनेसँगै अवैधरूपमा आएको लगानीलाई कम्पनी रजिस्ट्रारको कार्यालयले प्रमाणीकरण गरेको पाइएको हो ।
कम्पनीको सेयर सदस्यहरूमा अध्यक्ष शेखर कुमार राणा र विश्व रत्न शाक्य मात्रै नेपाली नागरिक हुन् । राणाको एक करोड ३१ र शाक्यको चार लाखबराबरको सेयर छ । बाँकी सेयर डोमिनियन इन्भेष्टमेन्ट लिमिटेड हङकङको ६० करोड, ब्लु इनर्जी प्रालि इन्डियाको १० करोड (जुन अहिलेसम्म जम्मा भएको छैन), याक एन्ड यति होटल प्रालिको १५ करोड, रत्ना सर्राफ भारतको आठ करोड ६५ लाख, अरुण कुमार सर्राफको दुई करोड ५० लाख, बरुण कुमार सर्राफको दुई करोड ५० लाख लगानी गरेको भनेर कम्पनी रजिस्ट्रारको कार्यालयले प्रमाणीकरण गरिदिएको छ ।
विदेशी नागरिक वा कम्पनीले नेपालमा लगानी ल्याउँदा वा फिर्ता लैजाँदा नेपाल राष्ट्र बैंकमार्फत गर्नुपर्ने हुन्छ । तर, यहाँ सर्राफको परिवार कसैले पनि पैसा कहाँबाट ल्याएर लगानी गरेका हुुन् भन्ने खुलेको छैन । सर्राफ परिवारकै नाममा रहेको भारतीय कम्पनी ब्लु इनर्जी प्रालि इन्डियाले अहिलेसम्म लगानी ल्याउन नसक्नुको कारण कडा भारतीय कानुन नै हो ।
भारतीय कांग्रेसनिकट सर्राफ परिवार अहिले भारतबाट कानुन मिचेर लगानी ल्याउन सक्ने हैसियतमा छैनन् । त्यसैले वैदेशिक लगानी ल्याउन स्वीकृति पाएर पनि त्यहाँबाट अहिलेसम्म लगानी नल्याएको बुझिएको छ ।
यस्तै डोमिनियन इन्भेष्टमेन्ट लिमिटेड हङकङमा पनि सबै सेयर यिनै सर्राफ परिवारको मात्रै रहेको देखिन्छ । सन् २०१३ मा उक्त कम्पनी खोलेको देखिन्छ ।
राधेश्याम सर्राफ र उनकी श्रीमती रत्ना सर्राफको नाममा रहेको उक्त कम्पनीको चुक्ता पुँजी १.५ करोड हङकङ डलर (करिब २५ करोड नेपाली) रहेको देखिन्छ ।
२०६८ सालमा यो कम्पनीले हायात होटलमा ४० करोड लगानी गरेको थियो भने अहिले यही कम्पनीले ब्लु इनर्जी लिमिटेडमा ६० करोड लगानी गरेको देखिन्छ । तर, यो पैसा कहाँबाट आयो भन्ने रेकर्ड राष्ट्र बैैंकमा अभिलेख नरहेको स्रोतले बताएको छ ।
१०० मेघावाट क्षमताको यस हाइड्रोपावरमा ३० प्रतिशत कम्पनीको र ७० प्रतिशत बैंकको लगानी रहेको छ । नेपाल इनभेष्टमेन्ट मेघा बैंकको अगुवाइमा ग्लोबल बैंक र कुमारी बैंक सब लिड र नबिल बैक, एभरेष्ट बैंक, हिमालयन बैंक, एसबीआई बैंक लगानीकर्ता बैंकको रूपमा १२ अर्ब ४० करोड ऋण स्वीकृत भएको छ ।
तर कम्पनीको लगानी ३० प्रतिशत पु¥याउन प्राय सबै प्राविधिकहरूलाई लाखौँ तलब दिएर विना श्रम स्वीकृति काम गराएको तथ्य पनि बाहिर आएको छ । सर्राफ समूहले एक जना भारतीय इन्जिनियरलाई १७ लाख ९० हजारभन्दा बढी प्रतिमहिना तलब र थप गाडी क्वाटर र अन्य सुविधा दिएको देखिन्छ तर कुनै पनि प्राविधिकले श्रम स्वीकृति लिएका छैनन् ।
सर्राफ परिवार भारतीय नागरिक भएकाले उनले नेपालमा लगानी ल्याउन र लैजान नेपाल सरकारको सबै कानुनी सर्त पालना गर्नुपर्ने हुन्छ तर उनले शक्ति र पैसाको बलमा हायात होटल करिब–करिब पूरै हत्याएको देख्दा उनलाई कानुन पालना गर्नु पर्दैन भन्ने लागेको हुनसक्छ ।
यदि नेपाल सरकारको सम्पत्ति शुद्धीकरण विभाग र भारतको प्रवर्तन निर्देशनालय (इडी)ले डोमिनियन इन्भेष्टमेन्ट लिमिटेड हङकङको छानबिन गर्ने हो भने अरबौँ रकमको स्रोत देखाउन सक्ने अवस्था छैन । वैदेशिक लगानीका नाममा यस्ता अवैध कारोबारमाथि सरकारले कडाइ नगरे मुलुक कालोसूचीमा पर्ने खतरा देखिन्छ ।