बुटवल, असार ३
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)ले एक लाखबराबरको अवैध सालको काठ बरामद गरेको छ । पछिल्लो समयमा अवैध बरामदमा महत्वपूर्ण भूमिका खेलेको कार्यालयले गोप्य सूचनाको आधारमा उक्त अवैध सालको काठ बरामद गरेको प्रहरी नायब उपरीक्षक तथा कार्यालयका सूचना अधिकारी राजु लामाले जानकारी दिए ।
लामाका अनुसार इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले बर्दघाट नगरपालिका–२, चिसापानीबाट उक्त अवैधरूपमा राखिएको सालको काठ बरामद गरेको हो । स्थानीय विक्रम गुरुङको घरको कोठाभित्र लुकाएर राखिएको चारपाटे १७ थान सालको काठ २१ दशमलव नौ क्यूफिट रहेको थियो । उक्त बरामद काठ र अवैध कार्यमा संलग्न गुरुङलाई आवश्यक कारबाहीको लागि बर्दघाट सरावल सवडिभिजन बन कार्यालयलाई बुझाइएको छ ।