काठमाडौं । आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा समेट्नुपर्ने विषयलाई लिएर नेपाल राष्ट्र बैंकले राय सुझाव मागेको छ । आइतबार सूचना जारी गर्दै राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको लागि राय सुझाव मागेको हो ।
सूचनामा भनिएको छ, ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा व्यवस्था भएबमोजिम यस बैंकले प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्दै आएकोमा आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको लागि आ–आफ्ना राय/सुझावहरू यस बैंकको आर्थिक अनुसन्धान विभागको ठेगानामा २०८१ असार १६ भित्र उपलब्ध गराइदिनुहुन अनुरोध छ ।’ सुझाव पठाउन इच्छुक व्यक्ति वा संस्थाले असार १६ गतेसम्म राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागमा पुग्नेगरी पठाउनुपर्नेछ ।
राष्ट्र बैंकले संसद्बाट बजेट पास भएलगत्तै मौद्रिक नीति तर्जुमा गर्ने गर्दछ । यस पटक साउनको पहिलो साता आगामी आर्थिक वर्षको मौद्रिक नीति आउने सम्भावना रहेको केन्द्रीय बैंक स्रोतले बताएको छ ।
बजारमा आर्थिक क्रियाकलाप खुम्चिँदा कर्जाको माग घटेर गएको छ । अहिले पनि करिब पाँच खर्ब हाराहारी लगानीयोग्य रकम बैंक तथा वित्तीय संस्थासँग छ । आगामी मौद्रिक नीतिमार्फत बजार चलायमान बनाउने, कर्जाको माग बढाउने विषयमा बढी केन्द्रित भई मौद्रिक नीति तर्जुमा गर्नुपर्ने चुनौती राष्ट्र बैंकसमक्ष छ ।