काठमाडौं । सामसुङ नेपालले ग्यालेक्सी एम३५ ५जी नेपालमा सार्वजनिक गरेको छ । यो फोनमा विभिन्न विशेष सुविधाहरू र धेरै टिक्ने ब्याट्री रहेको जनाइएको छ ।
कम्पनीका अनुसार ग्यालेक्सी एम३५ ५जीमा प्रभावशाली छ हजार एमएएच ब्याट्री रहेको छ । साथै, यो स्मार्टफोनले २५ वाट फास्ट चार्जिङ पनि सपोर्ट गर्ने र फास्ट पावर–अपहरूको लागि निःशुल्क चार्जर समेत पाइने कम्पनीले जनाएको छ । साथै, यो फोन एक्सेनोस १३ सय ८० प्रोसेसरबाट सञ्चालित छ, यसमा आठ जीबीको र्याम रहेको छ भने दुई सय ५६ जीबी इन्टरनल स्टोरेज माइक्रोएसडी स्लटमार्फत विस्तार गर्न सकिन्छ । वान युआई ६.१ सँग नवीनतम एन्ड्रोइड १४ मा चल्ने यो फानेले सहज र प्रभावकारी प्रयोगकर्ता अनुभवको ग्यारेन्टी दिने कम्पनीको दाबी छ । सामसङले चार वर्षको ओएस अपडेट र पाँच वर्षको सेक्युरिटी प्याच दिने जनाइएको छ ।
यस्तै, फोनमा ओआईएस, आठ एमपी अल्ट्रा–वाइड क्यामरा र दुई एमपी म्याक्रो क्यामराको साथ ५० एमपी मुख्य क्यामरा छ । भिडियो खिच्न रुचाउनेहरूले ३० एफपीएसमा फोरके रेकर्डिङ र ७२०पीमा दुई सय ४० एफपीएसमा स्लो मोसन क्षमताहरूको मजा लिन सक्नेछन् । यसको १३ एमपी फ्रन्ट–फेसिङ क्यामेराका साथ प्रयोगकर्ताले शानदार सेल्फीहरू र भिडियो कलहरूको आनन्द लिन सक्नेछन् । ग्यालेक्सी एम३५ ५जी गाढा निलो, खैरो र हल्का निलो तीन मनमोहक रंगहरूमा उपलब्ध रहेको छ । यो फोनको मूल्य ४४ हजार नौ सय ९९ रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ ।