दोलखा । जिल्लाको वैतेश्वर गाउँपालिका पछिल्लो सात वर्षको अवधिमा २० किलोमिटर पक्की सडक र २५ किलोमिटर पैदलमार्ग निर्माण सम्पन्न गरिएको छ । २०७४ सालमा सम्पन्न स्थानीय निर्वाचनपछि हालसम्म सात वर्षको अवधिमा आन्तरिक स्रोतबाटै सो सडक र पैदलमार्ग निर्माण गरेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले सार्वजनिक गरेको प्राविधिक रिपोर्टअनुसार पालिकाले मुख्य पाँच वटा सडकमा साढे आठ किलोमिटर कालोपत्रे सम्पन्न गरेको छ भने ११ किलोमिटर सडक ढलान गरेको छ । विकास एवं समृद्धिको मूल आधार रहेको सडक पूर्वाधार र बाटो घाटो रहेकाले यसैलाई पहिलो प्राथमिकतामा राखी काम गरिएको वैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामाले बताए । पालिका प्रमुख इन्जिनियर युधिष्ठिर केसीका अनुसार २०७४ देखि २०७७ सम्म पालिकाले रिङ्ग रोडसहित वडा नम्बर–१ देखि आठसम्म एक सय ५५ वटा सडक विस्तार गर्दै तीन सय ६२ किलोमिटर शाखा सडक निर्माण गरिएको थियो । त्यसैगरी आर्थिक वर्ष २०७६/७७ देखि आफ्नै स्रोतबाट सडक कालोपत्रे तथा ढलान गर्न सुरु गरेको पालिकाले आर्थिक वर्ष २०८०/८१ सकिन लाग्दा २० किलोमिटर पक्की सडक निर्माण सम्पन्न गरेको हो ।
गाउँपालिकाले ८ वडामा सडकसँगै पक्की गोरेटो बाटो पनि निर्माण गरिरहेको छ । २०७८ सालपछि प्रत्येक गोरेटो बाटोलाई हिलो र धुलोमुक्त बनाउने लक्ष्यसहित पक्की गोरेटो बाटो निर्माण सुरु गरिएको थियो । गाउँपालिकाले हालसम्म २५ किलोमिटर सिडीसहितको गोरेटो बाटो निर्माण सम्पन्न गरेको पालिकाका सब–इन्जिनियर विश्वास घिमिरे बताए । यस्तै, पालिकाले सोही अवधिमा कार्यालय सञ्चालनको लागि २० कोठाको पक्की आरसीसी प्रशासनिक भवनसहित आठ वडाको वडा कार्यालय भवन निर्माण सम्पन्न गरेको प्रतिवेदनमा उल्लेख छ ।
त्यसैगरी पालिका विभिन्न खोलानाला सात वटा झोलुङ्गे तथा ट्रस पुल, ८० प्रतिशत बस्तीमा स्वच्छ खानेपानी एक घर एक धारा कार्यक्रम सम्पन्न गरिएको जनाइएको छ । स्वास्थ्य, शिक्षा, कृषि, रोजगार तर्फ पनि लगानी गरेर काम गरिरहेको पालिकाले जनाएको छ ।