चितवन । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीलाई विधि र पद्धतिअनुसार चलाउन आवश्यक रहेको बताएका छन् ।
कांग्रेस चितवन क्षेत्र नम्बर ३ ले मगलबार यहाँ आयोजना गरेको शैलजा आचार्यको १५ औँ स्मृति सभालाई सम्बोधन गर्दै उनले पार्टीलाई विधि पद्धतिमा चलाउन मूल नेतृत्व नै सचेत हुनुपर्नेमा जोड दिए । उनले भने, “पार्टीभित्रको समस्या समाधान गर्दै एकताबद्ध भएर अघि बढ्नुपर्छ । त्यसका लागि पार्टी विधि र पद्धतिमा चलाउन आवश्यक छ ।” राससका अनुसार नेता केसीले स्व. आचार्यको योगदानको कदर गर्न उनले देखाएको बाटोमा पार्टी हिँड्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा कांग्रेस नेता जगदिश नरसिंह केसी, पार्टीका चितवन जिल्ला सभापति राजेश्वर खनाल, निवर्तमान सभापति जीतनारायण श्रेष्ठ, बागमती प्रदेशसभा सदस्य उत्तम जोशी, सविता बराल, मङ्गलध्वज गुरुङ, श्रीकान्त बराल, क्षेत्रीय सभापति लालबहादुर दवाडीलगायतले आचार्यको योगदानको चर्चा गरेका थिए ।