काठमाडौं । गण्डकी गाउँपालिका वडा नम्बर १ मकैसिङमा महिलाहरूको पाठेघरसम्बन्धी रोगको पहिचान तथा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । सम्भव नेपालको आयोजनामा मकैसिङ प्राथमिक स्वास्थ्य चौकीमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर हुन लागेको हो ।
उक्त शिविरमा त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सकहरूद्धारा उपचार हुनेछ । निःशुल्क स्वास्थ्य शिविरमा आगामी असार १ र २ गते शनिबार र आइतबार हुने जनाइएको छ । उक्त शिविरमा महिला तथा स्त्री रोगसम्बन्धी विशेषज्ञ सेवा, महिलाहरूको पाठेघरसम्बन्धी रोगको पहिचान तथा उपचार, पाठेघरको मुखको क्यान्सर, हाड जोर्नी विशेषज्ञ सेवा रेडियोलोजिस्ट, फिजिसियन र एक्स–रे सेवा, निःशुल्क औषधी वितरण तथा अन्य सेवाहरू समेत रहेको सम्भव नेपालको परियोजना परीवेक्षक उत्तम अधिकारीले जानकारी दिए । ज्येष्ठ नागरिकका लागि एम्बुलेन्स सेवाको पनि व्यवस्था रहेको छ ।
स्वास्थ्य शिविरबाट विभिन्न रोगको पहिचान गर्नुका साथै महिलाहरूको पाठेघरसम्बन्धी रोगको पहिचान तथा उपचार, पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर रोगको पहिचान समेत हुने भएकाले उक्त शिविरबाट धेरैभन्दा धेरैले लाभ लिने सम्भव नेपालका अध्यक्ष प्रेम कुमार खत्रीले जानकारी दिए ।