काठमाडौं । हरित अर्थतन्त्र र जलवायु कार्य प्रवर्द्धनका लागि ब्रिटिस काउन्सिलले हालै युवा तथा जलवायु कार्य सम्मेलन २०२४ आयोजना गरेको छ । सो सम्मेलनमा सहभागीहरूले जलवायु परिवर्तनसँग सम्बन्धित चुनौती र अवसरहरूबारे छलफल गरेका थिए । जुन ३ देखि १० सम्म चलेको सो कार्यक्रममा युवाहरूलाई रचनात्मकता, सक्रियता र रोकथामका उपायहरूमार्फत जलवायु संकटसँग जुध्न आफ्ना विचारहरू आदानप्रदान गर्ने मञ्च प्रदान गरिएको थियो ।
यस्तै, संयुक्त अधिराज्य र नेपाल साझेदारहरूको कन्सोर्टियमसँगको सहकार्यमा दिगो हरित अर्थतन्त्र र जलवायु कार्यमा केन्द्रित एक दिने विचारगोष्ठी समेत सम्मेलनमा समावेश थियो । नवप्रवर्तनकारी हरित परियोजनाहरू प्रस्तुत गर्ने एक हप्ता लामो प्रदर्शनी तारागाउँ नेक्स्ट, बौद्धमा जुन १० सम्म खुला रहेको थियो । प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको थियो ।