काठमाडौं, असार ३
लक्ष्मी बैंकले ल्यापटप तथा कम्युटर खरिदको लागि कर्जा दिने भएको छ । बैंकले भनेको विज्ञप्तिमार्फत भनेको छ, कोभिड–१९ रोकथामका लागि अपनाइएको लकडाउनका कारण घरबाट काम गर्नुपर्ने नयाँ वातावरणको सिर्जना भएको छ । हिँडडुलमा प्रतिबन्ध लगाइएको परिणामस्वरूप शैक्षिक संस्था तथा कार्यालयहरू बन्द भएको स्थितिमा विद्यालय तथा कलेजहरूमा अनलाइन कक्षा सञ्चालन गर्ने तथा व्यवसायी तथा कर्मचारीहरूले घरबाटै काम गर्ने अवधारणाको विकास भएको छ । यसै आवश्यकतालाई मध्यनजर गर्दै बैंकले ल्यापटप, कम्प्युटर तथा सम्बन्धित उपकरणहरूको खरिदका लागि ग्राहकहरूलाई सुपथ ब्याजदरमा सरल कर्जा सुविधाको प्रारम्भ गरेको हो, विज्ञप्तिमार्फत भनिएको छ ।
यो सुविधाअन्तर्गत योग्य ग्राहकहरूलाई खरिद मूल्यको शत प्रतिशतसम्मको कर्जा शून्य प्रतिशत शुल्क तथा न्यूनतम १२ प्रतिशत वार्षिक ब्याजदरमा प्रदान गरिने छ । बैंकका अनुसार यो सुविधा हाल एसर, एप्सन, डेल तथा एप्पल ब्राण्डका ल्यापटप तथा कम्प्युटर उपकरणहरूमा उपलब्ध छ । ग्राहकहरूलाई थप छनौटको सुविधा दिन निकट भविष्यमा नै अन्य ब्राण्डहरू पनि थप गर्दै जाने योजना रहेको बैंकले जानकारी दिएको छ । बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब आठ करोड ९९ लाख ७७ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब दुुई करोड ९६ लाख ३३ हजार रूपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी नौ अर्ब ८१ करोड २५ लाख ६० हजार रूपैयाँ रहेको बैंकले चालू आवको तेस्रो त्रैमासिक अवधिमा ९७ अर्ब ३६ करोड ३३ लाख ४७ हजार रूपैयाँ निक्षेप संकलन गरी ९० अर्ब ९८ करोड ६० लाख १२ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुुई अर्ब ६१ करोड चार लाख ९६ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ७८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा बैंकले ८० अर्ब ३२ करोड ४६ लाख ३३ हजार रूपैयाँ निक्षेप संकलन गरी ७४ अर्ब ६१ करोड ५९ लाख रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुुई अर्ब १९ करोड ६२ लाख १७ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव २० प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।