वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा आपराधिक अभियोजनमा दोषी ठहर भएका छन् । अमेरिकी न्यायालयले बाइडेनका छोरा हन्टर बाइडेनलाई दोषी ठहर गरेको हो । अमेरिकी इतिहासमा बहालवाला राष्ट्रपतिको सन्तान आपराधिक अभियोगमा दोषी ठहर भएको पहिलो घटना हो ।
राष्ट्रपति बाइडेनका छोरामाथि लागुऔषधको नशामा सन् २०१८मा हाते बन्दुक खरिद गरेको आरोपसहित तीनवटा अभियोगमा अदालतमा मुद्दा परेको थियो । अदालतले ५४ वर्षीय बाइडेनमाथि तीनवटै मुुद्दामा दोषी ठहर गरेको छ ।
जो बाइडेनले अमेरिकी राष्ट्रपतिको चुनावमा पुनः प्रतिस्पर्धा गर्न खोजिरहेकोे र बन्दुक सिंसाको बारेमा भाषण दिने तयारी भइरहेका बेला आफ्नै छोरा दोषी भएको अदालतको ठहर भएको छ ।
राष्ट्रपति बाइडेनले यस मुद्दाको नतिजा स्वीकार गर्ने बताउँदै हन्टरको अपिलपछि न्यायिक प्रक्रियालाई सम्मान गर्ने बताएका छन् ।
अमेरिकामा बन्दुक किन्ने क्रममा झुटो बयान दिएमा १० वर्षसम्म, लागुऔषध दुव्र्यसनमा परेका व्यक्तिले अवैधरूपमा बन्दुक राखेमा १० वर्षसम्म र बन्दुक खरिद गर्दा संघीय इजाजतपत्र प्राप्त बन्दुक डिलरलाई गलत जानकारी उपलब्ध गराउनेलाई पाँच वर्षसम्म जेल सजाय हुन्छ ।
हन्टर बाइडेनलाई यी तीनवटा आरोपमा अधिकतम सजाय दिइयो भने उनले २५ वर्षसम्मको जेल सजाय भोग्न सक्छन् । तर, २५ वर्षसम्म जेल सजाय भोग्ने सम्भावना भए पनि पहिलो पटकको अपराधीका रूपमा हन्टरलाई जेल सजाय नहुन पनि सक्छ ।