दाङ । चक्कु प्रहारबाट गम्भीर घाइते भएका तुलसीपुर–४ निवासी २४ वर्षीय गोरखलाल खड्काको भारतको लखनउमा उपचारको क्रममा बिहीबार मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिएका छन् ।
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते भएका खड्कालाई सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको थियो । नेपालगञ्जले पनि उपचार सम्भव नभएको भन्दै भारत पठाएको थियो ।
युवाको समूहले खड्कालाई मङ्गलबार राति घर नजिकै बसिरहेको अवस्थामा ढाडमा चक्कु प्रहार गरेका थिए । इलाका प्रहरी कार्यालय तुलसीपुरले चक्कु प्रहारमा संलग्न भएको भन्दै सोही ठाउँका २१ वर्षीय पवन केसी, १८ वर्षीय झक्कु वली र अन्दाजी २२ वर्षीय विकाश पुनलाई पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक थापाले जानकारी दिएका छन् ।