काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले क्रसर तथा खानी व्यवसायीहरूको समस्या समाधान गर्न सरकारसँग आग्रह गरेको छ । निर्माण कार्यका लागि अत्यावश्यक ढुङ्गा, गिट्टी, बालुवा उत्खनन् तथा प्रशोधन उद्योगहरूको नवीकरणसम्बन्धी समस्या तत्काल समाधान गर्न महासंघले सरकारसँग माग गरेको हो ।
नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले ढुङ्गा, गिट्टी, बालुवा उत्खनन् तथा प्रशोधन उद्योगहरूको नवीकरणसम्बन्धी विषय आर्थिक वर्ष ०८१/८२ को बजेटमा सम्बोधन नभएको भन्दै असार १ गतेदेखि आन्दोलनको घोषणा गरेको छ । सो आन्दोलनले निर्माण क्षेत्रमा गम्भीर असर पर्ने निर्माण व्यवसायी महासंघले जनाएको छ । निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहालले बिहीबार विज्ञप्ति जारी गर्दै क्रसर तथा खानी व्यवसायीहरूको समस्यालाई महासंघले महसुस गरेको उल्लेख गरेका छन् । ‘तत्कालीन कानुनअनुसार अनुमति पत्र लिई सञ्चालनमा रहेका ढुङ्गा, गिट्टी, बालुवा उत्खनन् तथा प्रशोधन उद्योगहरूले त्यसपछिका मितिमा जारी भएका सरकारी मापदण्डका कारण विभिन्न समस्या झेल्दै आएको र त्यसको मार निर्माण व्यवसायीहरूले पनि खेप्नुपरेको तथ्यलाई निर्माण उद्योगसँग प्रत्यक्ष सरोकार राख्ने यस महासंघले पनि गम्भीररूपमा लिएको छ’ विज्ञप्तिमा भनिएको छ ।