काठमाडौं । नेपाल रिकन्डिसन अटो व्यवसायी संघले सेकेन्डह्यान्ड सवारीका लागि पनि स्पस्ट कर्जा लगानी नीति ल्याउन सरकारसँग माग गरेको छ ।
नेपाली बजारमा नयाँ गाडीभन्दा पुराना गाडी खरिद गर्ने ग्राहक धेरै रहेको भए पनि सरकारसँग स्पष्ट कर्जा लगानी नीति नभएको कारण व्यवसायी तथा ग्राहकहरू समस्यामा रहेको संघको भनाइ छ । पुराना गाडी सट्टापट्टा तथा बिक्री गर्दै आएका व्यवसायीहरूले आफ्ना जटिल समस्याहरू भए पनि त्यसबारे राज्य बेखबर रहेको गुनासो गरेका छन् । सोमबार राजधानीमा आयोजित कार्यक्रममा संघका अध्यक्ष रमेश प्रसाद कोइरालाले हेर्दा सामान्य तर केही व्यावहारिक समस्याहरूबाट रिकन्डिसन अटो व्यवसायीहरू प्रताडित रहेको बताए । बैंकहरूले रिकन्डिसन गाडी र विशेषगरी विद्युतीय सवारी साधनमा लगानी गर्न अनिच्छा देखाएको उनको गुनासो छ । त्यसको मार ग्राहक र व्यवसायी दुवैलाई पर्ने उनले बताए । यस्तै, उनले अटो व्यवसायमा परिवर्तनशील प्रविधिहरूको प्रयोग हुन आवश्यक रहेको बताए । उनले भने, ‘अटो व्यवसायमा परिवर्तनशील प्रविधिहरूको प्रयोग हुन आवश्यक छ । आधुनिक प्रविधिहरूको ज्ञान र प्रयोगबाट हामी हाम्रो व्यवसायलाई अझ प्रतिस्पर्धी बनाउनेछौँ । यसले हामीलाई नयाँ बजारमा प्रवेश गर्न र वर्तमान बजारमा आफ्नो स्थिति बलियो बनाउन मद्दत गर्नेछ ।’
यस्तै, संघका कानुनी सल्लाहकार अधिवक्ता रुद्र ढुङ्गेलले पुराना गाडीको कारोबारलाई व्यवस्थित गर्न राज्यको ध्यान केन्द्रित हुन सके यो क्षेत्रले राज्यको लागि अतुलनीय कर योगदान गर्दै स्वदेशमा नै रोजगारी समेत सिर्जना गर्ने बताए । नेपाल रिकन्डिसन अटो व्यवसायी संघ ‘प्रयोग भइसकेका वा रिकन्डिसन अटोमोबाइल्स’हरूको खरिद तथा बिक्री गर्ने व्यवसायीहरूको छाता संस्था हो । यो २०७२ साल फाल्गुण १९ गते स्थापना भएको हो । हाल यस संघमा देशभरिबाट करिब एक सय ४४ जना सदस्यहरू सक्रिय रहेका छन् । कोशी र गण्डकी प्रदेशमा संघको प्रदेश संगठनहरू गठन भई यसै आर्थिक वर्षभित्रमा अन्य पाँच वटा प्रदेशहरूमा समेत प्रदेश संगठनहरू तयार गर्ने संघको लक्ष्य छ ।