रामपुर (पाल्पा) । विपन्न विद्यार्थीलाई पढाउने उद्देश्यले रामपुर नगरपालिका वडा नं ६ निवासी समाजसेवी रामप्रसाद लम्सालको परिवारले मङ्गलबार यहाँका तीनवटा विद्यालयलाई एक–एक लाखका दरले अक्षयकोष स्थापना गर्न रकम प्रदान गरेका छन् ।
जेहेन्दार, विपन्न विद्याथीबाहेक खेलकुद, सरसफाइ र अनुशासनमा अब्बल ठहरिनेलाई पनि पुरस्कृत गर्न अक्षयकोष खडा गरिएको हो । दाता रामप्रसाद लम्सालले रामपुर नगरपालिका क्षेत्रभित्रका रामतुलसी नमूना माध्यमिक विद्यालय, दरैठाँटी मावि र आधारभूत माविमा एक–एक लाखका दरले अक्षयकोष स्थापनाका निम्ति रकम प्रदान गरिएको बताए । उनकी श्रीमती चुत्रकलाको जन्मजयन्तीमा ती विद्यालयका प्रधानाध्यापकलाई रु. एक लाखको चेक हस्तान्तरण गरिएको हो ।