काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त घोषणा गरेका सहकारीमध्ये तीन सहकारीको सम्पूर्ण बचत फिर्ता भएको छ । सहकारी विभागको सिफारिसमा मन्त्रालयले २० वटा सहकारीहरूलाई समस्याग्रस्त घोषणा गरेको थियो ।
तीमध्ये कुबेर बचत तथा क्रण सहकारी संस्था, चार्टर्ड सेभिङ एन्ड क्रेडिट को—अपरेटिभ लिमिटेड, स्ट्यान्डर्ड मल्टिप्रपोज सहकारी संस्थाको सम्पत्ति व्यस्थापन तथा दायित्व भुक्तानीको काम सम्पन्न भएको मन्त्रालयले जनाएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले पहिलो चरणमा समस्याग्रस्त घोषणा भएका सहकारीहरूमा रहेको निक्षेपकर्ताको बचत फिर्ता गराउने अभियानलाई तीव्रता दिएका छन् । समस्याग्रस्त सहकारी व्यस्थापन समितिका अध्यक्ष श्रीमोहन गौतमका अनुसार मन्त्री अधिकारी र मन्त्रालयसँगको समन्वय र अग्रसरतामा सहकारीको सम्पूर्ण बचत रकम फिर्ता गराउन सफल भएको हो । समस्याग्रस्त संस्थाका पीडित, बचतकर्ताका प्रतिनिधि, सञ्चालक तथा यस समितिबीच विभिन्न मितिमा बचत फिर्तालगायतका विषयमा निरन्तर छलफल भई तीन वटा सहकारीको समस्या पूर्णरूपमा समाधान भएको छ ।