लमजुङ । बेँसीसहर–चामे सडक पहिरोका कारण अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयले अविरल वर्षाका कारण बेँसीसहर नगरपालिका वडा नं ६ खरखरेभिरमा ठूलो ढुङ्गासहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको जनाएको छ ।
खरखरेभिरमा सडक माथिबाट एउटा ठूलो ढुङ्गासहित पहिरो खसेपछि सडक अवरुद्ध भएको उक्त कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाइले बताए । सोही बाटोमा पर्ने अक्टोपस झरनामा पानी बढेपछि आवागमन पनि रोकिएको छ ।
बाढी पहिरोको सबैभन्दा बढी जोखिम रहेको स्थान खरखरेभिर नै हो । यो सडक हरेक वर्ष वर्षायाममा पहिरोले अवरुद्ध हुने गरेको छ । यहाँ पहिरो नियन्त्रणका निम्ति सङ्घीय सरकारले १६ करोड ४८ लाखको लागतमा आयोजना सञ्चालन गरेको भए पनि त्यो पूरा नहुँदा समस्या भएको छ ।