काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको बिहीबारको बैठकमा आफ्नो भारत भ्रमणबारे जानकारी गराएका छन् । सभामा सांसदहरूले राखेका प्रश्नहरूको जवाफ दिने क्रममा उनले सो जानकारी गराएका हुन् ।
प्रधानमन्त्री दाहालले गत जेठ २७ र २८ गते भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको शपथग्रहण समारोहमा भाग लिन मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारतको भ्रमण गरेका हुन् । उक्त भ्रमण कुनै पूर्वनिर्धारित कार्यसूचीका आधारमा नभई फरक ढङ्गको भएको उनले स्मरण गराए ।
प्रधानमन्त्री दाहालले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद ९ बमोजिम संसद्मा सांसदहरूले आकस्मिक, शून्य र विशेष समयमा सोधेका प्रश्नको जवाफ दिएका हुन् । आजकै बैठकमा विनियोजन विधेयक, २०८१ माथि भएका छलफलमा क्रममा उठेका प्रश्नमाथि विभिन्न आठ मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ ।