काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै चालु आर्थिक वर्ष र आगामी आर्थिक वर्षमा रासायनिक मलको अभाव नहुने बताएकी छिन् ।
अहिले ९६ हजार मेट्रिक टन रासायनिक मल मौज्दात रहेको बताउँदै मन्त्री साहले थप एक लाख ३१ हजार मेट्रिक टन रासायनिक मल असार मसान्तसम्म आयात भइ मलको आवश्यकता पूरा हुने बताइन् । उनले २०८१ जेठ २८ गतेसम्म तीन लाख ९० हजार मेट्रिक टन मल आयात भएकोमा तीन लाख ६७ हजार मेट्रिक टन मल बिक्री, वितरण भएको जानकारी गराइन् ।
उनले हाल अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य क्रमशः घट्दो क्रममा रहेकोले विनियोजित बजेटबाट नै ६ लाख मेट्रिक टन मल अनुदानमा उपलब्ध गराउन सकिने भएकाले मल आपूर्तिमा समस्या नहुने बताइन । उनका अनुसार आगामी आर्थिक वर्ष २०८१/०८२ मा रासायनिक मल आपूर्तिका लागि २७ अर्ब ९५ करोड विनियोजन गरिएको छ ।
आगामी आर्थिक वर्षमा मलको सहज उपलब्धताका लागि दुई लाख ५० हजार मेट्रिक टनको टेण्डर आह्वान भइसकेको जनाउदै मन्त्री साहले सोमध्ये ९० हजार मेट्रिक टनको आपूर्ति सम्झौता पनि भइसकेको भन्दै मलको अभाव नहुने बताइन् ।