काठमाडौं । सशस्त्र प्रहरीको कोशी प्रदेश प्रमुख परिवर्तन भएसँगै पछिल्लो समय सीमानाकाबाट हुने कपडा तस्करीमा वृद्धि भएको छ । भन्सार राजस्वमा हुने चोरी नियन्त्रणको जिम्मेवारी खुला सीमाको सुरक्षा बोकेको सशस्त्र प्रहरीको बीओपीले कपडा तस्करीका लागि सहज बातारण बनाइदिएको आरोप लाग्न थालेको छ ।
विराटनगरसँग भारतीय सीमा जोडिएको इस्लामपुर नाकाबाट बेलुका आठ बजेपछि सशस्त्र प्रहरीकै सेटिङमा कपडा तस्करी हुने गरेको स्रोतको दाबी छ । विराटनगरमा रहेको भारतीय नाका जोगबनी कपडा तस्करीका लागि सुरक्षित मार्ग भएको जानकारहरू बताउँछन् । कपडाको व्यापार गर्दै आएका व्यवसायीहरूले सरकारले कपडा आयातको लागि एलसी समेत खोल्न नदिएको निहुँ बनाएर अवैधरूपमा कपडा आयातको धन्दा गर्नेसँग कपडाको माग गर्न थालेको घटना पनि बाहिरिएको छ । यस्तै, सरकारले बजेटमार्फत सुती कपडामा दिईँदै आएको भन्सार छुट भएको व्यवस्था परिवर्तन गरी भन्सार दरबन्दी कायम गरेपछि झन् कपडाको तस्करी व्यापक बढेको दाबी गर्न थालिएको छ । अहिले रात पर्नासाथ विराटनगर भन्सारसँगै जोडिएको इस्लामपुर भारतीय नाका अवैधरूपमा कपडा आयातका लागि प्रमुख केन्द्र बन्न थालेको छ । यसरी कपडाको तस्करी हुुँदा पनि सीमा सुरक्षादेखि सीमामा हुने तस्करी नियन्त्रणको जिम्मेवारी पाएको सशस्त्र प्रहरीको बीओपी बेखबर जस्तो भएर बसेको स्थानीयको आरोप छ ।
स्रोतका अनुसार विभिन्न ब्रान्डका कपडा तथा सटिङ सुटिङको अवैधरूपमा कारोबार गर्दै आएका कपडाका व्यवसायीहरू नै विराटनगर भन्सारभित्र समेत सेटिङ मिलाएर कपडाको आयात गर्दै आएका छन् । पछिल्लो समय कपडा आयातका लागि बैंकमा एलसी खोल्न व्यवसायीलाई केही समस्या भएको बहानामा भन्सारको बाटो भएर कपडाको आयात ठप्प भएको छ । सोही कारण इस्लामपुर भारतीय नाका कपडा तस्करीका लागि प्रमुख मार्ग बनेको हो । दिनभरि सुनसान देखिने इस्लामपुर नाका राती आठ बजेपछि गुल्जार बन्ने गरेको स्थानीय बासिन्दाको दाबी छ ।
कपडाको कारोबार गर्ने कारोबारीले मासिक एक अर्बभन्दा बढीको अवैधरूपमा कपडा आयात गरी कोशी प्रदेशमा रहेको पूर्वी बजारका मुख्यमुख्य सहरमा पुर्याउने गरेको दाबी पनि स्थानीयको छ । कपडाको कारोबार गर्ने कारोबारी समूहले बजारको आवश्यकताअनुसार सिजन–सिजनमा आवश्यक पर्ने कपडाको व्यापारदेखि देशभरि नै कपडाको ढुवानी समेतको जिम्मेवारी लिएर अवैध बाटो हुँदै मागअनुसारको कपडा व्यावसायिक प्रतिष्ठानसम्म नै पुर्याउने गरेका छन् ।