काठमाडौं, असार ४
बैंक अफ काठमाण्डू लिमिटेडको विराटनगर शाखाले बीओके प्रिमियम तलब खाताअन्तर्गतको विभिन्न सुविधाहरूमध्ये दुर्घटनाजन्य मृत्यु तथा पूर्ण अशक्तताको सात लाखको बीमा दाबी रकम हालै खाताबाहकको परिवारलाई हस्तान्तरण गरेकोे छ । बैकका अनुसार उक्त शाखाका खाताबाहक अमिर चौधरीको दुर्घटनामा परी असामयिक निधन भएकोले बैंकले बीमा सेवा प्रदायक कम्पनी सिद्धार्थ इन्स्यारेन्स कम्पनी लिमिटेडसँग समन्वयमा बैंक प्रदेश नं. १ का प्रादेशिक कार्यालय प्रमुख दिपेन्द्र बुढाथोकीबाट उक्त बीमा दाबी रकम स्व. चौधरीका श्रीमती मनिषा चौधरीलाई हस्तान्तरण गरिएको हो ।
बैंकले हाल ८९ शाखा कार्यालयहरू, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरमार्फत आफ्ना ग्राहकहरूलाई बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ । बैकले चालू आर्थिक वर्षको पछिल्लो नौ महिनामा ८७ करोड ३४ लाख ९३ हजार रूपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब २० करोड ४६ लाख ८३ हजार रूपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी आठ अर्ब ५४ करोड ६८ लाख ८७ हजार रूपैयाँ रहेको बैंकले चालू आवको पछिल्लो नौ महिनामा ८९ अर्ब ७७ करोड नौ लाख २४ हजार रूपैयाँ निक्षेप संकलन गरी ७८ अर्ब ७२ करोड ४९ लाख ८३ हजार रूपैयाँ कर्जा प्र्रवाह गरेको छ । सो अवधिमा दुुई अर्ब ८७ करोड ८७ लाख ८० हजार रूपैयाँ खुुद ब्याज आम्दानी गरेको छ । निष्क्रिय कर्जाको अनुपात एक दशमलव ५३ प्रतिशत रहेको बैंकको प्रति सेयर आम्दानी १३ रूपैयाँ ६३ पैसा रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले ८२ अर्ब ७२ करोड २० लाख ३० हजार रूपैयाँ निक्षेप संकलन गरी ७० अर्ब ४७ करोड ६८ लाख ६४ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा बैकको खुुद ब्याज आम्दानी दुुई अर्ब ७३ करोड ५२ लाख ८५ हजार रूपैयाँ रहेको थियो ।