गोरखा । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बुढीगण्डकी जलविद्युत् आयोजनालाई नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीबाट बनाउन नसकिने बताएका छन् । बुढीगण्डकी आयोजनालाई बहुउद्देश्यीय आयोजनाकै रूपमा अगाडि बढाउनुपर्ने उनले बताए । शनिबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले आयोजनाको विद्यमान अवस्था जारी रहेमा काम अलपत्र पर्नसक्ने खतरा रहेको समेत औँल्याए । ‘नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीबाट आयोजना बनाउन खोजिए बुढीगण्डकी बहुउद्देश्यीय आयोजनाका रूपमा बन्नै सक्दैन’, उनले भने, ‘प्राधिकरणको सहायक कम्पनीबाट हामीले परिकल्पना गरेको बहुउद्देश्यीय आयोजनाको बनाउन सम्भव छैन । यो विषयमा गोर्खाली जनताले पनि आवाज उठाउनुपर्छ ।’
बुढीगण्डकीलाई बहुउद्देश्यीय आयोजनाका रूपमा अगाडि बढाउन बुढीगण्डकी विकास प्राधिकरण गठन गरेको निर्माण गर्नुपर्ने उनको भनाइ छ । प्राधिकरण गठन गरेर आयोजना निर्माण अगाडि बढाउन सकिए मात्रै यो आयोजना राष्ट्रिय गौरवको रूपमा बन्ने उनले बताए । यस्तै, उनले वर्तमान सरकारले पनि बुढीगण्डकी आयोजना निर्माणको काम अगाडि बढाउन नचाहेको आरोप लगाए । ‘मुख्य परियोजना बुढीगण्डकी परियोजना नै अलपत्र बन्दैछ’, उनले भने, ‘प्रधानमन्त्री पुष्पकमल दाहाल नै कुनै न कुनैरूपमा नौ वर्षदेखि सत्तामा हुनुहुन्छ, चाहे आफ्नो नेतृत्वमा होस् वा अरूको नेतृत्वमा तर आयोजना पटक्कै अगाडि बढाएको देखिएन ।’
गोरखालाई विकास र समृद्धिको मोडलका रूपमा अगाडि बढाउनुपर्ने आफ्नो चाहाना रहेको भए पनि आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि केन्द्र सरकारले विनियोजन गरेको बजेटबाट उक्त सम्भावना नरहेको उनले बताए । झट्ट हेर्दा गोरखामा बढी बजेट हालेको प्रचार भए पनि टुक्रे योजना मात्र परेको उनले बताए । ‘गोरखाको पश्चिम क्षेत्रलाई औद्योगिक क्षेत्रका रूपमा विकास गर्ने र सँगसँगै यहाँको ऐतिहासिक, सांस्कृतिक क्षेत्रलाई जोडर धार्मिक पर्यटन तथा उत्तरी गोरखालाई साहसिक पर्यटनको जुन बढी सम्भावना छ’, उनले भने, ‘यसलाई मिलाएर एकीकृत पर्यटनको योजना बनाउने प्रस्ताव गरेको भए पनि कुनै पनि सरकारले काम गरेन ।’