काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले ऋणपत्र निष्काशन गर्ने भएको छ । नेपाल राष्ट्र बैंकको निर्देशन तथा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनमा भएको व्यवस्थाबमोजिम फाइनान्स सञ्चालक समितिको यही असार पाँच गते बसेको बैठकबाट एक हजार रुपैयाँ अंकित मूल्य कायम रहने गरी २६ करोड रुपैयाँ बराबरको दुई लाख ६० हजार कित्ता ऋणपत्र निष्काशन गर्ने निर्णय गरेको हो ।
फाइनान्सका अनुसार आठ वर्षे अवधि रहने सो डिबेन्चर दुई लाख ६० हजार संख्याको प्रतिइकाई एक हजार रुपैयाँ अंकित मूल्य कायम रहेको र ब्याजदर नौ प्रतिशत र छ÷छ महिनामा भुक्तानी हुने गरी जारी गरिने छ । यस सम्बन्धमा अन्य नियमकीय प्रावधान पूरा गरी नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात् डिबेन्चर निष्काशन गरिने फाइनान्सले जानकारी दिएको छ ।