काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गण्डकी प्रदेशका विभिन्न संघसंस्थाहरूलाई सहयोग गरेको छ । बैंकले गण्डकी प्रदेशको कास्की जिल्लास्थित पोखरा महानगरपालिका १४, बाच्छीडुवामा सञ्चालित पुष्करणी परोपकार गोकुलधामलाई सडकमा जथाभावी छोडिएका पशु चौपाया र विशेष गरी नेपालको राष्ट्रिय जनावर गाईको संरक्षण एवं व्यवस्थापनका लागि आर्थिक सहयोग गरेको हो ।
छाडा पशुचौपायाको व्यवस्थापनले सडकमा हुने विभिन्न प्रकारका दुर्घटना न्यूनीकरण हुनुका साथै सडकमा छोडिएका पशुचौपायाको जीवन रक्षाको लागि बैंकले उक्त सहयोग गरेको हो । यही असार ४ गते मंगलबारका दिन आयोजित कार्यक्रमका बीच माछापुच्छ्रे बैंक सञ्चालक समितिका अध्यक्ष रोशन केसीले पुष्करणी परोपकार गोकुलधामलाई उक्त आर्थिक सहयोग प्रदान गरेका हुन् ।
यस्तैगरी बैंकले बाग्लुङ्ग जिल्लास्थित जैमीनी नगरपालिकाको छिस्तीमा रहेको वसन्त माध्यमिक विद्यालयमा भौतिक पूर्वाधार निर्माणको लागि सहयोग गरेको छ । आर्थिक स्रोतको अभावका कारण निर्माणाधीन विद्यालय भवनको निर्माण कार्यमा अवरोध आइरहेको जानकारीमा आएपछि बैंकले उक्त विद्यालयको निर्माणाधीन भवनको निर्माण कार्य सम्पन्न गरी विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको हो । सोही दिन बैंक सञ्चालक समिति सदस्य श्रीमती बन्दना केसी तथा प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले संयुक्तरूपमा उक्त पूर्वाधार विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका हुन् ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशका विभिन्न स्थानहरूमा विभिन्न संघसंस्थाहरूसँग मिलेर स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, वित्तीय साक्षरता, दिगो विकासलगायतका क्षेत्रहरूमा काम गर्दै आएको छ ।