काठमाडौँ । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले सहकारी ठगी प्रकरणमा जोडिएका जिवी राईलाई पक्राउ गर्न माग गरेका छन् । उनले राईलाई पक्राउ गर्ने प्रक्रिया सुरु नगरिएकामा गुनासो गरे ।
प्रतिनिधिसभाको आइतबारको बैठक सुरु हुनेबित्तिकै आकस्मिक समयमा सांसद शर्माले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवी लामिछानेले सहकारी ठगी प्रकरणमा जोडिएका राईको लोकेशन पत्ता लागिसकेको भन्ने जानकारी दिएको सन्दर्भ जोड्दै तत्काल कारबाहीको दायरामा ल्याउन माग गरे । उनले सूर्यदर्शन सहकारी प्रकरणको अनुसन्धान प्रक्रियामा सहभागी प्रहरी अधिकारीलाई सरुवा गरिएकामा आपत्ति प्रकट गरे ।
यस्तै प्रतिनिधिसभामा नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१४ का सुकबहादुर तितुङलाई पर्सा वन्यजन्तु आरक्षणको मध्यवर्ती क्षेत्रमा यही असार ७ गते बिनाअपराध गोली प्रहार गरी हत्या गरिएको आरोप लगाउँदै उक्त घटनाको छानबिन गर्न माग गरे । उनले सो घटनामा संलग्न सुरक्षाकर्मीलाई कारबाहीको दायरामा ल्याउन तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन माग गरे ।
राससका अनुसार आगामी दिनमा यस्ता घटना हुन नदिन सरकार विशेष चनाखो हुनुपर्ने प्रमुख सचेतक बर्तौलाको सुझाव थियो । मध्यवर्ती क्षेत्रमा विकास निर्माणका काम हुन नसकेको, वन्यजन्तुको आक्रमण पनि बढ्दै गएको उल्लेख गर्दै उनले समस्या समाधानका लागि तत्काल पहल थाल्न आग्रह गरे ।
सांसद प्रदीप पौडेलले सङ्घीय संसद्का कर्मचारीले राखेका माग सम्बोधन गर्न सरकारसँग माग गरे । उनले चुरे संरक्षणको माग राख्दै लामो समयदेखि आन्दोलनमा रहेका नागरिकको माग पूरा गर्न सदन र सरकारको ध्यानाकर्षण गराए । सांसद पौडेलले चुरे संरक्षण गर्न देशभर वृक्षरोपण अभियान सञ्चालन गर्नुपर्ने बताए ।
सांसद ऋषिकेश पोखरेलले स्वास्थ्य बिमा दर्ता सहयोगीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद रोशन कार्कीले सङ्घीय संसद् सचिवालयका कर्मचारीका माग पूरा गर्न जोड दिए ।