काडमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले मङ्गलबार डाँका चोरी तथा लुटपाट गरी फरार रहेका चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
भक्तपुर सूर्यविनायक नगरपालिका-४ दधिकोट बस्ने ३५ वर्षीय डिल्लीबहादुर राउतको घरमा असार ४ गते सिबिआई हुँ भन्दै अपरिचित तीन जना व्यक्तिहरू प्रवेश गरी घरधनीलाई नियन्त्रणमा लिई दराजभित्र रहेको दुई करोड रुपियाँ लुटपाट गरी फरार रहेको पत्रकार सम्मेलनका क्रममा बोल्दै प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले बताए ।
सिन्धुपाल्चोक बाह्रबिसे २- ३० वर्षका सुजन रसाइली, सिन्धुपाल्चोक भोटेकोशी २- ३१ वर्षका भीमबहादुर तामाङ, ओखलढुङ्गा मानेभञ्ज्याङ ३- ३६ वर्षका मुनाराज राई र सिन्धुपाल्चोक भोटेकोशी २ कै ३८ वर्षका कृष्णबहादुर बोहरा पक्राउ परेको प्रहरीले बताएको छ ।
मोबाइल थान १०, लुटिएको रकम बोक्न प्रयोग गरिएको झोला थान दुई, डाँका चोरी तथा लुटपाट गर्न लगाएको कपडाहरू, घटनामा प्रयोग भएको २२० सिसिको पल्सर मोटरसाइकल दुई थान, डाँका चोरी तथा लुटपाट गर्दा लगाएको जुत्ता तीन जोर, खुकुरी एक थान प्रहरीले निजहरूबाट बरामद भएको बताएको छ ।