काठमाडौँ । नेपाल साहित्यिक पत्रकार सङ्घको १८औँ स्थापना दिवसको कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले साहित्यिक पत्रकारितालाई सूचना प्रविधिसँग जोड्न आवश्यक रहेको बताएकि छिन् । उनले यसका लागि मन्त्रालय सहकार्य गर्न सधैँ सकारात्मक रहेको बताइन् ।
मन्त्री शर्माले पत्रकारिताको इतिहासको सुरुआत नै साहित्यिक पत्रकारिताबाट सुरु भएको स्मरण गरिन् । नेपाली साहित्यिक पत्रकारिता भारतको बनारसदेखि उदाएको उल्लेख गर्दै उनले साहित्यिक पत्रकारिताले नेपालमा पत्रकारिताको विकास गर्न सहयोग पुगेको बताइन् ।
उनले सङ्घलाई यस वर्षदेखि दुई लाख सहयोग गरेको उल्लेख गर्दै साहित्यिक पत्रकारिताले समाज रुपान्तरण गर्न मद्दत पुग्ने किसिमका पाठ्यसामग्री उत्पादन गर्न जरुरी रहेको बताइन् ।
कार्यक्रममा साहित्यिक पत्रकारहरु- प्रा. डा. कृष्णप्रसाद घिमिरे, डा. तुलसी भट्टराई, निनु चापागाईँ, घनश्याम कँडेल, नरेन्द्रबहादुर श्रेष्ठ, डा. अमर गिरी, कृष्ण प्रसाईँ, नरनाथ लुइँटेल, ईश्वरचन्द्र ज्ञवाली, हरिगोविन्द लुइँटेल, लोकबहादुर थापामगर, डा. विष्णुविभु घिमिरे, नारायणप्रसाद शर्मा र सावित्री श्रेष्ठ सम्मानित भएका छन् ।
साहित्यिक पत्रकारिता जोगाउन राज्यको सहयोग महत्त्वपूर्ण हुने सङ्घका अध्यक्ष मोहन दुवालले बताए । उनले सङ्घलाई आर्थिक सहयोग वृद्धि गरेकामा मन्त्री शर्माप्रति आभार व्यक्त गरे ।