काठमाडौं । रिद्धिसिद्धि सिमेन्ट लिमिटेडले ‘मकवानपुर स्मार्ट स्टुडेन्ट अफ द एअर २०८१’ को छात्रवृत्ति कार्यक्रम सञ्चालनमा ल्याएको छ । यस छात्रवृत्ति कार्यक्रम २०८० मा परीक्षा दिएको र २०८१ सालमा नतिजा प्राप्त भई एसईईमा उत्तीर्ण भएका मकवानपुर जिल्लाका विद्यार्थीहरूलाई लक्षित गरी ल्याइएको कम्पनीले जनाएको छ । उक्त एसईई परीक्षामा ३.५ जीपीएदेखि चार जीपीए ल्याएका विद्यार्थीहरू छात्रवृत्ति कार्यक्रममा सहभागी हुन पाउनेछन् । गत सालमा आयोजना गरिएको यस छात्रवृत्ति कार्यक्रममा ११ जना विद्यार्थी लाभान्वित भएका थिए । कम्पनीले यस वर्ष भने १५ जना विद्यार्थीलाई सो छात्रवृत्ति उपलब्ध गराउने भएको छ ।
छात्रवृत्तिअन्तर्गत पहिलो हुने विद्यार्थीलाई मासिकरूपमा पाँच हजार, दोस्रो हुनेलाई तीन हजार पाँच सय, तेस्रो हुनेलाई दुई हजार पाँच सय रुपैयाँ प्रदान गरिने जनाइएको छ । साथै, सान्त्वना स्वरूप थप १२ विद्यार्थीलाई मासिक रुपमा १ हजार ५ सय रुपैयाँ कम्पनीले एक वर्षसम्म उपलब्ध गराउने छ ।
यस छात्रवृत्ति कार्यक्रममा आबद्ध हुन विद्यार्थीले कम्पनीको आधिकारिक वेवसाइट वा फेसबुक पेजमा राखिएको क्युआर कोडमा स्क्यान गरी फारम भर्न सक्नेछन् । आवेदकको असार २३ गतेसम्म फारम बुझाउन सकिने कम्पनीले जनाएको छ ।