काठमाडौं । राइड सेयरिङ प्लेटफर्म इन्ड्राइभले नेपालमा कुरियर सेवा सञ्चालनमा ल्याएको छ । इन्ड्राइभ (एपीएसी) का मार्केटिङ डाइरेक्टर नतालिया माकारेन्कोले नेपाली बजारमा गतिशीलता अभिवृद्धि गर्नका लागि सुविधाहरू विस्तार गरेको जानकारी दिइन् ।
कम्पनीका सेवाहरूलाई अझ राम्रो बनाउन आवश्यकताअनुसार थप सुविधाहरू अझै ल्याउने उनको भनाइ छ । उनका अनुसार इन्ड्राइभको डेलिभरी सेवाले बुकिङको दिनमा २० किलो वा सोभन्दा कम तौलका पार्सलहरूको अन्तिम माइल डेलिभरीमा मद्दत गर्नेछ । इन्ड्राइभ डेलिभरीमार्फत नेपालका साना व्यवसाय र व्यक्तिहरूले सामना गर्ने लजिस्टिक चुनौतीहरूको समस्यालाई समाधान गर्ने उनले बताए ।
यस्तै, उनले इन्ड्राइभलाई नेपालका यात्रुहरूबाट सकारात्मक प्रतिक्रिया पाइरहेको बताइन् । कम्पनीले आफ्नो सेवामा सन् २०२३ मा अघिल्लो वर्षको तुलनामा दुई सय प्रतिशतको वृद्धि गरेको थियो । यस्तै, सन् २०२४ को पहिलो ६ महिनामा इन्ड्राइभले सवारीहरूमा ४६ प्रतिशत वृद्धि रेकर्ड गरेको छ ।
नयाँ सुरक्षा सुविधाहरूमा लगनशीलताका साथ काम गर्दा इन्ड्राइभले यात्रु र चालक दुवै सिटहरूबाट सुरक्षालाई प्राथमिकता दिने जनाइएको छ । इन्ड्राइभसँग विभिन्न प्रविधिहरू रहेका छन् ।